राजन कुमार बानियाँ /पर्सा, २३ असोज
पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ। लामो समयको राजनीतिक समस्याका कारण ढिला गरी आयोजना गरिएको गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
धोबीनी गाउँपालिकाको सभा हलमा आयोजित गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार यादवले गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। गाउँसभाले पाँचवटै वडाका विकास बजेटसमेत सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आगामी दिनमा काम गर्ने बताउनुभयो।
अध्यक्ष चौहानले राजनीतिक समस्याका कारण गाउँसभा सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै ‘गाउँसभा ढिलो आयो, तर दुरुस्त आयो’ भन्नुभयो। गाउँसभा ढिलो हुँदा विकास निर्माणका कामसँगै सर्वसाधारणका दैनिक कामकाजसमेत प्रभावित भएको उहाँको भनाइ थियो।
गाउँसभा सम्पन्न भएसँगै विकास निर्माणका कामलाई तीव्रता दिने र जनताका कामलाई छिटोछरितो तथा प्रभावकारी रूपमा अघि बढाउने अध्यक्ष चौहानले प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सञ्जीवकुमार यादवले आफूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताउनुभयो। आगामी दिनमा धोबीनी गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।
गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जुदेवी कुर्मी, वडाध्यक्षहरू अबास मियाँ, देवेन्द्र पटेल, राजकिशोर पटेल, मनाउर मियाँ र बन्धु साह तेलीलगायतको उपस्थिति थियो।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी श्यामकिशोर पटेल, कार्यपालिका सदस्य दिनेशप्रसाद कलवार, गाउँसभा सदस्य तथा महिला सदस्यहरूको सहभागिता थियो।

त्यस्तै लेखापाल सोनु कुमार सोनी, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, इन्जिनियर रविभूषण पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, जिन्सी शाखा प्रमुख प्रदीप पटेल, प्रशासन शाखा प्रमुख प्रदीप गुप्ता, स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, महिला तथा बालबालिका शाखा प्रमुख सञ्जय यादव, कृषि शाखा प्रमुख रविन्द्र शर्मा, रोजगार शाखा प्रमुख दिलिपकुमार पटेल, पत्रकार तथा सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख जितेन्द्रप्रसाद चौहानले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

