जनकपुरधाम, असार २३ — सेवाग्राहीसँग घुस रकम लिँदै गरेका सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।
अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले कर्जन्हा नगरपालिका–४ बाट उनलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको काम मिलाइदिने नाममा प्रतिट्रक ४ हजार रुपैयाँका दरले घुस मागिएको थियो। सेवाग्राहीले अख्तियारमा उजुरी दिएपछि विशेष योजना (स्ट्रिङ अपरेसन) सञ्चालन गरी रकम लेनदेन भइरहेका बेला उनलाई पक्राउ गरिएको हो।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका कार्यालय प्रमुखमाथि भ्रष्टाचार सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

