राष्ट्रिय दैनिक / नवलपरासी,१४ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आफ्नो ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भोलि विशेष ललितकला प्रदर्शनी–२०८३ आयोजना गर्ने भएको छ।
गाउँपालिकाको सभाहलमा सञ्चालन हुने प्रदर्शनीमा सरावल क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका स्थलहरूलाई चित्रकलामार्फत प्रस्तुत गरिनेछ। स्थानीय कला, संस्कृति, मौलिक परम्परा र पर्यटकीय सम्भावनालाई चित्रमार्फत उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा पुराना ऐतिहासिक स्थल ,पुराना परम्परा तथा पर्यटकीय स्थल लगाएत सरावलको मौलिक पहिचान झल्काउने चित्रहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। कला र संस्कृतिमार्फत स्थानीय सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने विश्वास गरिएको छ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गाउँपालिकाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले कला समाजको ऐना भएकाले स्थानीय इतिहास, संस्कृति र सभ्यतालाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता प्रदर्शनी प्रभावकारी हुने उल्लेख गर्दै सम्पूर्ण कला प्रेमी, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीको अवलोकन गर्न आग्रह गर्नुभयो।
प्रदर्शनीका समन्वयकर्ता तथा वरिष्ठ चित्रकार नरबहादुर बि.क. ले सरावलको मौलिक पहिचानलाई क्यानभासमा उतारेर पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रयास गरिएको बताउनुभयो। उहाँका अनुसार स्थानीय धार्मिक स्थल, पुरातात्त्विक सम्पदा, सांस्कृतिक नृत्य र ग्रामीण जीवनशैलीलाई चित्रमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ। यसले कला र पर्यटनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
सरावल गाउँपालिकाको आयोजनामा तथा बि.के. आर्ट ग्यालेरी, काठमाडौंको समन्वयमा हुन लागेको यो प्रदर्शनीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्नुका साथै सरावलको सांस्कृतिक सम्पदालाई नयाँ ढंगले चिनाउने अपेक्षा गरिएको छ। स्थानीयवासी, विद्यार्थी, कला पारखी तथा पर्यटकका लागि यो प्रदर्शनी विशेष आकर्षण बन्ने विश्वास आयोजकको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

