राष्ट्रिय दैनिक /नवलपरासी, १३ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षामा ऐतिहासिक उपलब्धि हासिल गर्दै पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता पालिकाको मान्यता प्राप्त गरेको छ।
गत एक वर्षको अवधिमा गाउँपालिकाभित्रका ५८८ जना गर्भवती महिलाले शतप्रतिशत स्वास्थ्य संस्थामै सुरक्षित प्रसुति सेवा लिएपछि सरावललाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको हो। यस उपलब्धिले गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारिता र जनचेतनाको सकारात्मक परिणाम उजागर गरेको छ।

घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सुरक्षित मातृत्व प्रत्येक महिलाको मौलिक अधिकार भएको उल्लेख गर्दै संस्थागत प्रसुतिलाई अभियानका रूपमा अघि बढाउँदा प्राप्त सफलता सम्पूर्ण सरावलवासीको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“स्वस्थ आमा नै स्वस्थ समाजको आधार हो। संस्थागत प्रसुतिको अभ्यासले मातृ तथा नवजात शिशुको सुरक्षित भविष्य सुनिश्चित गरेको छ,” अध्यक्ष चौधरीले भन्नुभयो।

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल) ले सरावलको उपलब्धि अन्य स्थानीय तहका लागि उदाहरणीय भएको उल्लेख गर्दै संस्थागत प्रसुतिले मातृ मृत्युदर घटाउन र नवजात शिशुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामै प्रसुति र प्रसुतिपछिको स्याहारमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले स्वास्थ्य सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि र स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतका कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो।

स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगदबहादुर शाहीले संस्थागत प्रसुतिको दिगोपनाका लागि गुणस्तरीय स्वास्थ्य सेवा, जनचेतना र सबै पक्षबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा अभियान सफल बनाउन योगदान पुर्याउने गाउँपालिकाका सातवटै स्वास्थ्य संस्थाबाट एक–एक जना स्वास्थ्यकर्मी, सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सहयोगी संस्था इन्द्रेणी सामाजिक विकास मञ्च, फेयर मेड र बेस नेपाललाई प्रशंसापत्रसहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा स्टाफ नर्स मनिषा अग्रहरीले अभियानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने तुल्सिराम खनाल, अशोक पाण्डे, अनिता चौधरी, सीता शर्मा र निलकण्ठ भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

सरावल गाउँपालिकाको यो उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुरक्षामा स्थानीय तहले हासिल गरेको महत्वपूर्ण सफलता तथा अन्य पालिकाका लागि अनुकरणीय नमुनाका रूपमा हेरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

