राष्ट्रिय दैनिक / नवलपरासी , असार ९ ।
निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका तीन जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ।
आयोगले सोमबार सूचना प्रकाशित गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित पठाएको जानकारीका आधारमा सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको निर्णय गरेको जनाएको हो।
आयोगका अनुसार जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकालको पद रिक्त भएको छ।
उनीहरू नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए। पछि अन्य राजनीतिक दलमा प्रवेश गरेको जानकारी कांग्रेसले आयोगलाई गराएपछि आयोगले असार ८ गते पद रिक्त भएको निर्णय गरेको हो।
राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरिएको आयोगले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

