राष्ट्रिय दैनिक /४ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडा अधिवेशनमा क्रियाशील सदस्यताको अद्यावधिक नामावलीले समस्या निम्त्याएको छ।
मोरङ क्षेत्र नम्बर–६ मा क्रियाशील सदस्यताको अन्तिम अद्यावधिक सूची समयमै नआएपछि वडा अधिवेशन प्रक्रिया नै अन्योलमा परेको छ। उक्त क्षेत्र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको गृहक्षेत्र हो। केन्द्रबाट अन्तिम नामावली प्राप्त नभएसम्म निर्वाचन प्रक्रिया अघि बढाउन कठिनाइ भएको अधिवेशन सञ्चालनको जिम्मेवारी पाएका नेता चुमनारायण तबदारले बताएका छन्।
यस्तै, नवलपरासी क्षेत्र नम्बर–१ मा कांग्रेस नेता एवं पूर्वमन्त्री देवकरण कलवारको नाम क्रियाशील सदस्यताको अद्यावधिक सूचीमा नआएको विषयले पनि स्थानीय तहको वडा अधिवेशनमा प्रश्न उठाएको छ।
क्षेत्र नम्बर–१ मा केन्द्रबाट क्रियाशील सदस्यहरूको नामावली प्राप्त भएको र कुल ४ हजार ५७६ क्रियाशील सदस्य रहेको विवरण सार्वजनिक भएको छ।
क्रियाशील सदस्यताको नामावली नै वडा अधिवेशनको आधार भएकाले सम्बन्धित नेताहरूको नाम छुटेको विषयले कांग्रेसभित्र थप चासो र अन्योल सिर्जना गरेको छ। अन्तिम तथा संशोधित नामावली स्पष्ट भएपछि मात्र अधिवेशन प्रक्रिया सहज रूपमा अघि बढ्ने देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

