राष्ट्रिय दैनिक / नवलपरासी, ४ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ मा आज हुने भनिएको वडा अधिवेशन क्रियाशील सदस्यताको अद्यावधिक नामावली केन्द्रबाट नआएपछि अन्योलमा परेको छ।
निर्धारित कार्यतालिकाअनुसार आज वडा अधिवेशन हुने भनिए पनि अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यहरूको नामावली नै प्राप्त नभएपछि अधिवेशन सञ्चालन हुने वा नहुने विषयमा अन्योल देखिएको हो।
नेपाली कांग्रेस पश्चिम नवलपरासीका कार्यवाहक जिल्ला सभापति विक्रम यादवले केन्द्रबाट हालसम्म क्रियाशील सदस्यताको नामावली प्राप्त नभएको बताए। यद्यपि, नामावली नआएको अवस्थामा पनि निर्वाचन क्षेत्र नम्बर–२ को अधिवेशन आजै हुने वा नहुनेबारे भने उनले स्पष्ट धारणा दिन सकेनन्।
क्रियाशील सदस्यताको अद्यावधिक नामावली नआएपछि वडा अधिवेशनको प्रक्रिया कसरी अघि बढाउने भन्नेमा जिल्ला नेतृत्वसमेत अन्योलमा परेको छ। यसै निर्वाचन क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल र लुम्बिनी प्रदेश सदस्य भीमबहादुर थापा ‘भरत’ रहेका छन्। दुवै नेता एउटै राजनीतिक समूहसँग निकट रहे पनि स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धा रहेको कांग्रेस निकट शुभेच्छुकहरूको बुझाइ छ।
यही आन्तरिक प्रतिस्पर्धाका कारण क्रियाशील सदस्यताको विषयमा समेत सहमति जुट्न नसकेको हुन सक्ने कांग्रेस निकट शुभेच्छुकहरूको आकलन छ। यद्यपि, क्रियाशील सदस्यताको नामावली आउन ढिलाइ हुनुको आधिकारिक कारण भने पार्टी केन्द्रबाट स्पष्ट पारिएको छैन।
यसैबीच, पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ मा पनि क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेसका नेता तथा कार्यकर्तामाझ असन्तुष्टि देखिएको छ। क्षेत्र नम्बर–१ का नेता देवकरण कलवार ‘सन्तु’को नाम क्रियाशील सदस्यताको सूचीबाट काटिएको विषयलाई लिएर कार्यकर्तामाझ चरम असन्तुष्टि रहेको छ।
कलवारको नाम सूचीबाट हटाइएको विषयमा कार्यकर्ताले प्रश्न उठाउँदै निर्णयको कारण र प्रक्रियाबारे स्पष्ट जानकारी माग गरिरहेका छन्। क्रियाशील सदस्यताको सूची नै अधिवेशनको आधार हुने भएकाले नाम थपघट तथा हटाउने विषय पारदर्शी हुनुपर्ने उनीहरूको माग छ। यद्यपि, देवकरण कलवार ‘सन्तु’को नाम किन हटाइएको हो भन्नेबारे सम्बन्धित पार्टी निकायको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।
यसैबीच, क्रियाशील सदस्यताको नामावलीबारे जानकारी लिन केन्द्रबाट निर्वाचन प्रतिनिधिका रूपमा खटाइएका अधिवक्ता रुपेश लामालाई राष्ट्रिय दैनिकको टिमले पटक–पटक फोन सम्पर्क गरे पनि उनले फोन उठाएनन्।
नामावली नै प्राप्त नभएपछि आजै अधिवेशन हुने हो वा स्थगित हुने हो भन्ने विषयमा निर्वाचन क्षेत्र नम्बर–२ का कांग्रेस नेता तथा कार्यकर्ता अन्योलमा छन्। उता क्षेत्र नम्बर–१ मा समेत क्रियाशील सदस्यताको सूचीलाई लिएर असन्तुष्टि देखिएपछि कांग्रेसको जिल्ला अधिवेशन प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ।
अब केन्द्रबाट क्रियाशील सदस्यताको अद्यावधिक सूची कहिले आउँछ, विवादित नामहरूबारे कसरी निर्णय हुन्छ र त्यसपछि वडा अधिवेशन प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा कांग्रेस नेता–कार्यकर्ताको चासो बढेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

