Rashtriya Dainik

शुद्धोधन बचत तथा ऋण सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

तुलसीराम पौडेल/ रुपन्देही ,४ भाद्र

रुपन्देहीको सियारी गाउँपालिका-७ पश्चिम अमवामा रहेको श्री शुद्धोधन बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

संस्थाका संस्थापक अध्यक्ष अजय अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि अधिकारीले शुद्धोधन बचत  तथा ॠण सहकारी संस्था  आर्थिक अवस्थामा अन्य सहकारीभन्दा निकै अब्बल रहेको बताउनुभयो। साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा पनि अन्य सहकारीभन्दा अगाडि रहेको उहाँले उल्लेख गर्नुभयो।

सभाको अध्यक्षता सहकारीका अध्यक्ष कृष्णप्रसाद नेपालले गर्नुभएको थियो। उपाध्यक्ष टंकनारायण आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्रप्रसाद गुप्ताले गर्नुभएको थियो।

सभामा अध्यक्ष नेपालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ऋषिराम न्यौपानेले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार मीननाथ शर्मा, पूर्व अध्यक्ष एवं सल्लाहकार झपेन्द्रराज अर्याल र बाह्य लेखापरीक्षक मधुप्रसाद खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो।

साधारण सभाको अवसरमा सहकारीले असल कारोबारी, उत्कृष्ट कर्मचारी र निवर्तमान समितिका पदाधिकारीहरूलाई सम्मान गरेको थियो। साथै भाग्यशाली कुपन उपहार कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

हाल संस्थामा कुल २,३८८ जना शेयर सदस्य रहेका छन्। जसमा १,२०३ जना पुरुष र १,१८५ जना महिला रहेका छन्। संस्थाको कुल शेयर पुँजी ६ करोड २७ लाख ४ हजार २ सय रुपैयाँ र बचत/निक्षेप २२ करोड ८७ लाख ३९ हजार ८ सय ८९ रुपैयाँ ४५ पैसा रहेको छ। ५२२ जनालाई कुल ३० करोड २० लाख ५६ हजार ८ सय ८६ रुपैयाँ ऋण लगानी गरिएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले १ करोड ६८ लाख ३ हजार ९ सय १७ रुपैयाँ २० पैसा खुद नाफा आर्जन गरेको छ र शेयर सदस्यलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ।

संस्थाले शेयर सदस्यको मृत्यु भएमा मृतकका हकवाला वा परिवारलाई किरिया खर्च स्वरूप २० हजार रुपैयाँ दिँदै आएकोमा आर्थिक वर्ष २०८३/०८४ देखि २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।

सहकारीले २०८२ पुस ७ गते ३०० भन्दा बढी सदस्यको सहभागितामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास तालिम सञ्चालन गरेको थियो। ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८२ चैत १६ गते सियारी-६ मिलनचोकस्थित श्री सिद्धार्थ माविका कक्षा ११ र १२ का ८० जना विद्यार्थीलाई सहकारी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।

त्यस्तै १९ औं स्थापना दिवसको अवसरमा २०८३ जेठ १२ गते निःशुल्क आँखा शिविर, मोतियाबिन्दु जाँच, निःशुल्क औषधि वितरण तथा चस्मामा अनुदान कार्यक्रम गरेको थियो, जसबाट ३०० भन्दा बढी नागरिक लाभान्वित भएका थिए। जेठ १३ गते अमवा बजार क्षेत्रमा सरसफाइ जागरण र जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम तथा मूल समारोह सञ्चालन गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित