बिनोद निगम/नवलपरासी,असार ८
पश्चिम नवलपरासी प्रहरीले अवैध रूपमा भित्र्याइएका २७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ। जिल्लामा पछिल्लो समय चोरीपैठारी तथा राजस्व छलि नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र गस्तीलाई तीव्रता दिएसँगै ठूलो परिमाणमा अवैध सामान बरामद हुन थालेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले असार ७ गते राति करिब १०ः३० बजे बर्दघाट नगरपालिका–११ गैडहा स्थित भित्री सडकखण्डमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामान फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गस्ती टोली पुगेको जानकारी पाएपछि सामान ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।
बरामद सामानको अन्दाजी मूल्य रु. २७ लाख १९ हजार ९८४ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामग्रीमध्ये मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास ४७ कार्टुन (२३ हजार ५ सय थान) तथा हुक्कामा प्रयोग गरिने फ्लेवर ३२ कार्टुन (९८४ प्याकेट) रहेका छन्। यी सामानहरू भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन थापाले बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जानकारी दिए। उनका अनुसार सामानको वास्तविक स्वामित्व, पैठारीको मार्ग तथा संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको छ।
पश्चिम नवलपरासी भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकाले यहाँका विभिन्न नाका तथा ग्रामीण सडकमार्फत बेला–बेलामा अवैध रूपमा सामान भित्रिने गरेको पाइएको छ। विशेषगरी भन्सार राजस्व छल्ने उद्देश्यले इलेक्ट्रोनिक्स, कपडा, किराना तथा अन्य उपभोग्य सामग्री चोरीपैठारी हुने गरेको सुरक्षा निकायको भनाइ छ।
पछिल्लो समय जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीको नेतृत्वमा चोरीपैठारी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ। नियमित गस्ती, सूचनाको परिचालन तथा सीमा क्षेत्रमा निगरानी बढाइएपछि तस्करीमा संलग्न समूहहरू दबाबमा परेको प्रहरी स्रोत बताउँछ। विभिन्न स्थानबाट अवैध सामान बरामद हुने क्रम बढ्दै जाँदा सुरक्षा निकायको सक्रियता देखिएको छ भने तस्करी सञ्जालमाथि थप अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
यस घटनाले सीमा क्षेत्र हुँदै हुने अवैध पैठारी अझै चुनौतीपूर्ण रहेको तथ्यलाई पनि उजागर गरेको छ। सुरक्षा निकायले सीमा क्षेत्रमा थप कडाइ गरे पनि तस्करहरूले नयाँ–नयाँ मार्ग प्रयोग गरी सामान भित्र्याउने प्रयास गरिरहेको बताइन्छ। त्यसैले अवैध व्यापार नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी, भन्सार प्रशासन तथा स्थानीय तहबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको देखिन्छ।
प्रहरीले जिल्लावासीलाई अवैध गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै चोरीपैठारी तथा राजस्व छलिविरुद्धको अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

