राजन कुमार बानियाँ/पर्सा, ८ असार ।
पर्साको धोबीनीमा ह्युमन लभ च्यारिटी फण्डको आयोजनामा विद्यार्थीहरूमा शिक्षा, सकारात्मक सोच, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले मोटिभेशनल कार्यक्रम तथा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका प्रमुख सल्लाहकार मुकेश पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा मोटिभेशनल स्पिकर दिवेश कुमार गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुआत उप–कोषाध्यक्ष बिकास कुमार साहको स्वागत मन्तव्यबाट भएको थियो। उनले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै अनुशासन, सकारात्मक सोच, नैतिक मूल्य तथा समाजसेवाको महत्वबारे प्रकाश पारे। साथै विद्यार्थीहरूलाई निरन्तर मेहनत, लगनशीलता र असल चरित्रमार्फत सफलता हासिल गर्न प्रेरित गरे।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको मोटिभेशनल सत्रमा प्रमुख अतिथि गुप्ताले लक्ष्य निर्धारण, समय व्यवस्थापन, आत्मविश्वास तथा सकारात्मक सोचका विषयमा प्रेरणादायी विचार व्यक्त गरेका थिए। उनका भनाइले विद्यार्थीहरूमा नयाँ उत्साह र ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्।
अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितातर्फ श्री नौगावा माध्यमिक विद्यालय, चेर्गहा प्रथम, श्री मंगल माध्यमिक विद्यालय, भिस्वा द्वितीय, भेडीहारी माध्यमिक विद्यालय तृतीय तथा श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबीनी चतुर्थ स्थान हासिल गर्न सफल भए। त्यस्तै श्री जिल्ला उचाङल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया पाँचौँ, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखम्पुर छैटौँ तथा श्री काली प्रसाद लाखे माध्यमिक विद्यालय, लङ्गडी सातौँ स्थानमा रहे।
आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान अभिवृद्धिसँगै आत्मविश्वास, नेतृत्व क्षमता, तार्किक सोच, प्रतिस्पर्धात्मक भावना तथा सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। यस्ता कार्यक्रमले शैक्षिक जागरण तथा युवाहरूमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अतिथिवर्ग, शिक्षक, अभिभावक, पत्रकार, समाजसेवी, विद्यार्थी तथा संस्थाका सम्पूर्ण सदस्यहरूप्रति ह्युमन लभ च्यारिटी फण्डले आभार व्यक्त गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानव कल्याणका क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

