राजन कुमार बानियाँ/पर्सा, १ असार।
धोबीनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तय गर्न सोमबार बोलाइएको महत्वपूर्ण बैठक प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण स्थगित भएको छ।
बिहान ११ बजेका लागि तय गरिएको बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, स्थानीयवासी तथा सञ्चारकर्मीहरू समयमै उपस्थित भए पनि प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडा उपस्थित नभएपछि बैठक सञ्चालन हुन सकेन।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानका अनुसार प्रमुख प्रशासकीय अधिकृत खतिवडाकी आमाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उहाँ अस्पताल जानुपरेको जानकारी प्राप्त भएको थियो। अध्यक्ष चौहानले बिहानदेखि साँझ ५ बजेसम्म बैठक सञ्चालनका लागि प्रयास गरिए पनि खतिवडासँग सम्पर्क हुन नसकेपछि कार्यक्रम स्थगित गर्नुपरेको बताए।
“हामी सबै आवश्यक तयारीका साथ उपस्थित थियौं। तर प्रमुख प्रशासकीय अधिकृत पारिवारिक समस्याका कारण आउन सक्नुभएन। सम्पर्क पनि हुन नसकेपछि बैठक सञ्चालन गर्न सम्भव भएन,” अध्यक्ष चौहानले भने।
बैठक स्थगित भएपछि जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। वडा नम्बर ३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले दिनभर प्रतीक्षा गर्नुपर्दा आफूहरू अपमानित महसुस गरेको बताए। नौ वर्षको जनप्रतिनिधि अनुभवमा यस्तो अवस्था पहिलो पटक देख्नुपरेको उल्लेख गर्दै उनले गाउँपालिकाको प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठाए।
“नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयका लागि सबैलाई बोलाएर दिनभर बसालियो, तर कुनै निष्कर्ष निस्किएन। यसले जनप्रतिनिधिको सम्मानमाथि नै ठेस पुगेको छ,” कुर्मीले प्रतिक्रिया दिए।
स्थानीयवासीहरूले पनि गाउँपालिकाभित्र लामो समयदेखि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय अभाव रहेको गुनासो गरेका छन्। उनीहरूका अनुसार यही कारण विकास निर्माणका काम, प्रशासनिक सेवा तथा अन्य गतिविधिहरू प्रभावित हुँदै आएका छन्।
महत्वपूर्ण नीति तथा कार्यक्रम तय गर्ने दिनमै बैठक स्थगित भएपछि धोबीनी गाउँपालिकाको प्रशासनिक क्षमता र कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ। स्थानीयवासी तथा जनप्रतिनिधिहरूले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने माग गरेका छन्।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडासँग प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिए पनि उहाँको मोबाइल फोन स्विच अफ रहेकाले प्रतिक्रिया प्राप्त हुन सकेन।
बैठक स्थगित भएसँगै अब नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरिने भन्नेबारे गाउँपालिकाले औपचारिक रूपमा कुनै नयाँ मिति सार्वजनिक गरेको छैन। जनप्रतिनिधिहरूले शीघ्र बैठक बोलाई गाउँपालिकाको नियमित कामकारबाही प्रभावित हुन नदिन आग्रह गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

