Rashtriya Dainik

जगरनाथपुरमा हरियाली अभियान जारी, ७ बिघा सार्वजनिक जग्गामा १,५०० बिरुवा रोपियो

राजन कुमार बानिया /पर्सा, साउन १३

पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गालाई हरियाली बनाउने अभियानलाई निरन्तरता दिएको छ। वन तथा वातावरण संरक्षणमा उल्लेखनीय काम गर्दै मधेस प्रदेशमै उदाहरणीय बनेको गाउँपालिकाले संघीय सरकारबाट समेत सम्मानित हुँदै आएको छ।

यसै अभियानअन्तर्गत बुधबार गाउँपालिका–६ औराहास्थित ७ बिघा सार्वजनिक पर्ती जग्गामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको नेतृत्वमा आयोजित कार्यक्रममा आँप, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक, सपेता लगायतका विभिन्न प्रजातिका करिब १ हजार ५०० बिरुवा रोपिएको स्थानीय कांग्रेस नेता मन्जय गिरीले जानकारी दिए।

कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए। उनले जगरनाथपुर गाउँपालिकाले वन तथा वातावरण संरक्षणका क्षेत्रमा गरेको प्रयासको प्रशंसा गर्दै यस्ता अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने बताए।

पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरि, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, एमाले नेता वीरेन्द्र यादवलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षारोपण गर्दै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दीर्घकालीन प्राकृतिक स्रोत व्यवस्थापनमा उदाहरणीय अभियान सञ्चालन गरिरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित