राष्ट्रिय दैनिक / नवलपरासी ,१२ साउन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा नेतृत्व संकट थप गहिरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुनले आफ्नो पद जोगाउन सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्चले खारेज गरेपछि उहाँको पद आधिकारिक रूपमा समाप्त भएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित खातुनलाई गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविपरीत अन्य दलका उम्मेदवारको पक्षमा मत मागेको आरोपमा नेपाली कांग्रेस केन्द्रीय समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले असार ९ गते पदमुक्त गरेको थियो।
उक्त निर्णयविरुद्ध खातुनले निर्वाचन आयोग र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्षी बनाउँदै अन्तरिम आदेशसहित उत्प्रेषणको रिट दायर गरेकी थिइन्। तर सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गर्दै आयोगको निर्णयलाई यथावत् राखेको हो।
यसअघि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता पनि अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतमा आरोपपत्र दर्ता भएपछि पदमुक्त भइसकेका छन्। अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि अब गाउँपालिकाको कार्यवाहक नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा स्थानीय तहमा व्यापक चासो र कानुनी बहस सुरु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

