Rashtriya Dainik

स्वास्थ्यमन्त्री घिमिरेद्वारा शिवराज अस्पताल अनुगमन, सेवा सुधारमा जोड

प्रिन्स मिश्र /कपिलवस्तु , साउन १२ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सरकार मातहत सञ्चालित शिवराज अस्पताल, बहादुरगञ्जको अनुगमन गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ।

अनुगमनका क्रममा मन्त्री घिमिरेले अस्पतालको सेवा प्रवाह, उपचार व्यवस्था, उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको अवस्थाबारे अस्पताल प्रशासन र सेवाग्राहीसँग जानकारी लिनुभएको थियो। उहाँले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो।

उहाँले सीमावर्ती तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै शिवराज अस्पताललाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, CEONC (Comprehensive Emergency Obstetric and Newborn Care) सेवा सञ्चालनसँगै मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा स्वास्थ्य सेवाको दायरा विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन, सेवाको गुणस्तर अभिवृद्धि तथा संस्थागत क्षमता विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो। उहाँले अस्पतालको दीर्घकालीन विकास योजनाको कार्यान्वयनका लागि मन्त्रालयबाट आवश्यक नीतिगत, प्राविधिक तथा समन्वयात्मक सहयोग निरन्तर उपलब्ध गराइने जानकारी दिनुभयो।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाह, मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि पाण्डे, अस्पतालका प्रशासन प्रमुख डा. दुर्गेश लाल चौधरीलगायतको सहभागिता रहेको थियो।
नगर प्रमुख शाहले CEONC सेवा सञ्चालनका लागि भएको पाँच वर्षीय सम्झौताले कृष्णनगर तथा आसपासका नागरिकलाई आफ्नै क्षेत्रमा सुरक्षित, गुणस्तरीय र विशेषज्ञ प्रसूति तथा नवजात शिशु स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संघ, प्रदेश र स्थानीय सरकारसँगै विकास साझेदार संस्थाको सहकार्यबाट शिवराज अस्पताललाई लुम्बिनी प्रदेशकै नमुना सरकारी अस्पतालका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिवराज अस्पतालले छोटो समयमै सेवा विस्तार, पूर्वाधार विकास र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अस्पताललाई अझ प्रभावकारी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित