राष्ट्रिय दैनिक / नवलपरासी ,१६ बैशाख
संयुक्त दलित संघर्ष समिति, नवलपरासी (ब.सु.प.) ले सिन्धुलीमा प्रहरी हिरासतमा २२ वर्षीय श्रीकृष्ण वि.क.को मृत्यु तथा रोल्पामा ११ वर्षीय खगेन्द्र विश्वकर्मामाथि भएको क्रूर आक्रमणको घटनालाई लिएर प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।
समितिले वैशाख १६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पेश गरेको हो।
ज्ञापनपत्रमा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडा स्थायी घर भएका तथा हाल ललितपुर इमाडोल बस्दै आएका श्रीकृष्ण वि.क. अन्तरजातीय प्रेम विवाहको विषयमा पक्राउ परेर खुर्कोट इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका बेला वैशाख ७ गते मृत अवस्थामा फेला परेको घटनालाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी रोल्पाको गंगादेव गाउँपालिका–५ फुलबासका ११ वर्षीय खगेन्द्र विश्वकर्मामाथि वैशाख ११ गते भएको सांघातिक आक्रमणप्रति पनि समितिले गम्भीर आपत्ति जनाएको छ। खेल्ने क्रममा छिमेकीको घरमा प्रवेश गरेका खगेन्द्रलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाइएको तथा उनलाई बचाउन गएका गोपाल विश्वकर्मामाथि समेत आक्रमण गरिएको उल्लेख गरिएको छ।
समितिले दुवै घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।

ज्ञापनपत्रमा नेपाल दलित संघका केन्द्रीय सदस्य गणेश वि.क., मुक्ति समाज नेपाल जिल्ला अध्यक्ष धिरबहादुर रसाइली, नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश सदस्य गोविन्द वि.क., मुक्ति समाज नेपालका तारा सुनार, मोतीलाल सुनार, नेपाल सुनचाँदी व्यवसायी समितिका अध्यक्ष देवेन्द्र सुनार, जिल्ला सचिव रामकुमार वि.क. तथा सुनिल सुनारलगायतको हस्ताक्षर रहेको छ।
समितिले दलित समुदायमाथि हुने जातीय विभेद, अन्याय र अत्याचारविरुद्ध राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने मागसमेत गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

