राष्ट्रिय दैनिक / नवलपरासी,१५ बैशाख ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गरेको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।
सुस्ता गाउँपालिका–५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजय कुमार चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो। जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो।
प्रहरीका अनुसार, नारायणी पारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीले झुटा विवरण पेश गरी आफ्ना बुबाको मृत्यु भएको भन्दै अर्का ६६ वर्षीय व्यक्तिको मृत्यु दर्ता गराएका थिए। उक्त दर्ता गत वर्ष मंसिर ७ गते भएको देखिएको छ।
अनुसन्धान अनुसार मियाँका बुबाको भने २०६० सालमै मृत्यु भइसकेको थियो। घटना सार्वजनिक भएपछि मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले गत वर्ष चैत महिनामा प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि मुद्दा अदालतसम्म पुगेको प्रहरीले जनाएको छ।
मृत्यु दर्ताको कागजातमा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन्। सो घटनामा संलग्न अन्य सात जना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) अनुसार झुटा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उनीहरूलाई आज अदालतमा उपस्थित गराई म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

