राष्ट्रिय दैनिक / नवलपरासी, बैशाख १२ गते ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५, भैरवपुरमा हालै भएको आगलागीबाट पीडित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा संघीय सांसद विक्रम खनाल सक्रिय हुनुभएको छ ।
विपद्को घडीमा पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सांसद खनालले विशेष पहलकदमी लिनुभएको हो ।
सांसद खनालको विशेष पहल र समन्वयमा ‘इन्द्रेणी सामाजिक विकास मञ्च’मार्फत आगलागी पीडित परिवारका लागि अति आवश्यक सामग्रीहरूको व्यवस्थापनको काम अघि बढाइएको छ । घटनास्थलको स्थलगत निरीक्षण गर्दै सांसद खनालले पीडित परिवारसँग भेटघाट गरी उनीहरूको समस्या र पीडाको अवस्थाबारे जानकारी लिनुभएको छ।
पीडित परिवारको दैनिक जीवनयापनलाई सहज बनाउन तत्काल आवश्यक भान्साका सामग्रीहरू—ग्यास चुलो र भाँडाकुँडा—उपलब्ध गराउने गरी काम अघि बढाइएको छ । यस्तै, आगलागीका कारण पठनपाठनमा अवरोध सिर्जना भएका विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै उनीहरूका लागि आवश्यक स्टेशनरी सामग्री र विद्यालय पोशाकको व्यवस्थापन गर्न पनि उहाँले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ।

घटनास्थलमा पीडितहरूसँगको संवादका क्रममा सांसद खनालले भन्नुभयो, “यस्तो कठिन विपद्को समयमा राज्य र जनप्रतिनिधिको हैसियतले हामी सधैँ तपाईंहरूको साथमा छौँ। तपाईंहरूको दैनिक जीवनलाई छिटोभन्दा छिटो सामान्य अवस्थामा फर्काउन र आधारभूत आवश्यकताहरू पूरा गर्न म र इन्द्रेणी सामाजिक विकास मञ्च प्रतिबद्ध छौँ।”

उहाँले सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्रीहरू यथाशीघ्र पीडित परिवारसमक्ष हस्तान्तरण गर्ने र आगामी दिनमा पनि प्रभावित परिवारको पुनर्स्थापनाका लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

