Rashtriya Dainik

महँगीले जनजीवन कष्टकर बन्दै: इन्धन मूल्य समायोजन गर्न सरकारसँग प्रदेश सांसद कलवारको माग

बिनोद निगम/नवलपरासी, २९ चैत

देशभरि बढ्दो महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले इन्धनको मूल्यवृद्धि नियन्त्रण र आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न संघीय सरकारसँग जोडदार माग गर्नुभएको छ।

कलवारले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखाउँदै गरिएको अस्वाभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवनमा गम्भीर असर परेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार इन्धनको मूल्यवृद्धिले चुल्होदेखि यातायात, कृषि तथा निर्माण क्षेत्रसम्म प्रत्यक्ष प्रभाव पार्दै सामान्य परिवारको दैनिकी झनै कठिन बनाएको छ।

उहाँले वर्तमान सरकारले सुशासन, स्थायित्व र समृद्धिको लक्ष्यसहित झन्डै दुई तिहाइ जनादेश प्राप्त गरे पनि जनताले अपेक्षित राहत पाउन नसकेको बताउनुभयो। “नयाँ सरकार गठनपश्चात् पनि पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने ग्यासजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि हुँदा जनतामा निराशा बढेको छ,” विज्ञप्तिमा भनिएको छ।

इन्धनको मूल्यवृद्धिको असर कृषि क्षेत्रमा पनि गम्भीर रूपमा परेको भन्दै उहाँले सिँचाइ, जोताइ, बाली भित्र्याउने तथा रोपाइँका लागि आवश्यक उपकरणको भाडा बढ्दा किसानहरू थप मारमा परेको उल्लेख गर्नुभएको छ। साथै मल र बीउको अभावले कृषि उत्पादन चक्र नै प्रभावित हुने जोखिम बढेको पनि उहाँले औंल्याउनुभयो। हरेक वर्ष मल सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता दोहोरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो।

त्यसैगरी यातायात भाडा वृद्धि र निर्माण सामग्रीको मूल्यवृद्धिले समग्र बजारमा असन्तुलन सिर्जना गरेको र देशको आर्थिक गतिविधिमा नकारात्मक असर पारेको विज्ञप्तिमा उल्लेख छ। निर्माण व्यवसायीहरूले ‘निर्माण उद्योगमा आपतकाल’ घोषणा गर्नुपर्ने माग उठाउनु वर्तमान अवस्था गम्भीर भएको संकेत भएको उहाँको भनाइ छ।

अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन आपूर्तिमा समस्या आएको तर्क गरिए पनि छिमेकी मुलुक भारतको तुलनामा नेपाली उपभोक्ताले प्रति लिटर झन्डै ६३ रुपैयाँ बढी तिर्नु परिरहेको विषय पनि उहाँले उठाउनुभएको छ। युद्धविरामको अवस्था सिर्जना भइसकेपछि पनि मूल्य समायोजनतर्फ ठोस पहल नहुनु सरकारको कमजोरी भएको उहाँको आरोप छ।

प्रदेश सांसद कलवारले महँगी नियन्त्रण, इन्धनको मूल्य समायोजन, रासायनिक मल तथा बीउको समयमै आपूर्ति तथा कृषि र उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। साथै नागरिकका समस्याप्रति संवेदनशील हुँदै जिम्मेवार ढंगले समाधानतर्फ अघि बढ्न उहाँले संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित