काठमाडौं । आफ्नो सम्पूर्ण जीवन मातृभाषा संरक्षण र प्रवर्द्धनमा समर्पित भाषासेवी विष्णु चित्रकारको आकस्मिक निधन भएको छ। मुस्ताङ भ्रमणका क्रममा चैत २३ गते सोमबार बिहान सुतिरहेकै अवस्थामा उनलाई एक्कासी हृदयघात भएपछि निधन भएको हो। अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको पार्थिव शरीर एम्बुलेन्समार्फत मध्यरातमा काठमाडौं ल्याइएको थियो।
भाषासेवी, शिक्षाविद् तथा नेपालभाषा क्षेत्रमा चर्चित व्यक्तित्व चित्रकार पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता झलनाथ खनालका ससुरा पनि हुन्। उनको अन्तिम श्रद्धाञ्जली मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म जगत सुन्दर ब्वनेकुथिमा दिइएको थियो, जहाँ विभिन्न व्यक्तित्वहरूले शोक वक्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, मल्ल के. सुन्दर, डा. महेशमान श्रेष्ठ, युवा नेता सुमन साय्मी, नेवाः देय् दबूकी पूर्वअध्यक्ष रश्मिला प्रजापति, पूर्वअध्यक्ष पवित्र बज्राचार्य, डा. चुन्दा बज्राचार्य लगायतले पुष्पगुच्छा अर्पण गर्दै चित्रकारको भाषिक, सामाजिक तथा राजनीतिक योगदानको स्मरण गरेका थिए।
चित्रकार एक सन्तानका पिता थिए। उनकी धर्मपत्नी विध्या चित्रकार हुन्। उनको अन्तिम संस्कार मंगलबार काठमाडौंको शोभा भगवतीस्थित कर्णदीपमा नेवाः परम्परा अनुसार सम्पन्न गरिएको छ।

नेवाः आन्दोलनका अग्रज, नेपाल संवत् अभियन्ता, भाषासेवी तथा आदिवासी नेवाः राजनीतिक अभियानका संस्थापक सदस्य रहेका चित्रकार जगत सुन्दर ब्वनेकुथिका संस्थापकसमेत थिए। नेपाल लिपि युनिकोड दर्तामा उनको योगदान अतुलनीय मानिन्छ।
उनको निधनले नेपालभाषा क्षेत्रमा ठूलो क्षति पुगेको छ र शोकको लहर फैलिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

