Rashtriya Dainik

विनयी त्रिवेणी र सुस्तामा भन्ते टोलीको भ्रमण: गुम्बा निरीक्षणसँगै पूजा–प्रार्थना र धर्मदेशना

आरपी उपाध्याय / नवलपरासी, १६ चैत

अन्तर्राष्ट्रिय बुद्ध पयती उदय विहार, तिलोत्तमा (रुपन्देही) का भन्ते टोलीले विनयी त्रिवेणी र सुस्ता गाउँपालिकास्थित विभिन्न बौद्ध गुम्बाहरूको निरीक्षण गर्दै पूजा, प्रार्थना तथा धर्मदेशना कार्यक्रम सम्पन्न गरेका छन्।

टोलीले नवलपुरको विनयी त्रिवेणी–७ मा रहेको ज्योति बौद्ध गुम्बा विहारमा निरीक्षणसँगै दीप प्रज्वलन, सूत्रपाठ लगायतका धार्मिक कार्यक्रम सम्पन्न गरेको थियो।

कार्यक्रममा भिक्षु आनन्दले बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा र धर्म सम्पूर्ण मानव जातिको कल्याणका लागि रहेको बताउँदै वर्तमान अवस्थामा बुद्ध शिक्षा नै सबैभन्दा उत्कृष्ट मार्गदर्शक भएको उल्लेख गर्नुभयो। उहाँले बुद्ध शिक्षा अज्ञान हटाएर मानिसलाई सुमार्गमा डोर्‍याउने ज्ञानको स्रोत भएको जिकिर गर्नुभयो।

भिक्षु, उपासिका तथा गुरुआमाहरूको टोली गुम्बामा पुग्दा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापा, उपाध्यक्ष रुपा थापा लगायत पदाधिकारीहरूले स्वागत गरेका थिए।
टोलीले त्रिवेणी वैष्णौ टोल, सेमल बोट क्षेत्रमा निर्माण प्रस्तावित बुद्ध पार्क स्थलको समेत निरीक्षण गरेको थियो।
त्यसैगरी, भन्ते आनन्द नेतृत्वको टोलीले सोमबार सुस्ता–५ स्थित अनुमा घाटको अवलोकन गर्दै अनोमा बौद्ध विहारमा सूत्रपाठ तथा बुद्ध शिक्षा सम्बन्धी जानकारी प्रदान गरेको थियो। सो अवसरमा भन्ते आनन्दले स्थानीय श्रद्धालुहरूलाई धर्मदेशना पनि दिनुभयो।

कार्यक्रममा सर्वधर्म शान्ति समाज काठमाडौंका महासचिव अशोक मानन्धरले भगवान बुद्धले राजसी जीवन त्याग गरी सुस्ताकै अनुमा घाटबाट कपाल मुण्डन गरेर ज्ञानको खोजीमा भारततर्फ प्रस्थान गरेको ऐतिहासिक प्रसङ्गबारे जानकारी गराउनुभयो।

उक्त कार्यक्रममा अनोमा बौद्ध विहार समितिका अध्यक्ष सुक्रीब यादवसहित अन्य स्थानीयको पनि सहभागिता रहेको आयोजकले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित