मिना के.सि /नवलपरासी, १६ चैत
“रक्तदान नै जीवनदान” भन्ने सन्देशलाई आत्मसात् गर्दै नवलपरासी (बसुप) सुनवल–९ स्वाठीस्थित प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २०औँ स्थापना दिवस तथा वार्षिकोत्सव सोमबार सामाजिक उत्तरदायित्वसहित भव्य रूपमा सम्पन्न गरेको छ।
संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष तुलसी कुँवरको अध्यक्षता तथा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासीका सभापति कृष्ण लामिछाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुँदा स्थानीय जनप्रतिनिधि, सल्लाहकार, उपशाखा प्रतिनिधि तथा सदस्यहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित रक्तदान अभियानमा १७ जनाले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। यस अभियानले “रक्तदान नै जीवनदान” भन्ने नारालाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रमुख अतिथि अर्यालले २०६३ सालमा स्थापना भएको सहकारीले छोटो अवधिमै १२०० भन्दा बढी शेयर सदस्य र करिब १३ करोड रुपैयाँको आर्थिक दायरा विस्तार गर्न सफल भएको उल्लेख गर्दै संस्थाको उपलब्धिप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले सहकारीले वित्तीय सेवासँगै सीप विकास तालिम, सुत्केरी सहयोग तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै आगामी दिनमा अझ नवीन र प्रभावकारी कार्यक्रमहरू सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि लामिछानेले रगत कुनै पनि प्रविधिबाट उत्पादन गर्न नसकिने भएकाले यसको महत्व जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो। उहाँले १८ देखि ६० वर्ष उमेर समूह र न्यूनतम ४५ केजी तौल भएका व्यक्तिहरूले मात्र सुरक्षित रूपमा रक्तदान गर्न सक्ने जानकारी दिँदै सबैलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो।

कार्यक्रममा अध्यक्ष कुँवरले सहकारीले आर्थिक कारोबारमा मात्र सीमित नरही जेष्ठ नागरिक सम्मान, तीर्थ भ्रमण, सुत्केरी राहत तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले सहकारीलाई समुदायसँग जोड्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रमको सञ्चालन बिन्दु पौडेलले गर्नुभएको थियो भने उपाध्यक्ष मुक्तिराम पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। करिब ३० जनाको सहभागितामा सम्पन्न कार्यक्रमले सहकारीको सामाजिक प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई अझ मजबुत बनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

