राष्ट्रिय दैनिक / नवलपरासी, २५ फागुन
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार भिम बहादुर थापा (भरत) ठूलो मतान्तरले पराजित भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र कुमार गुप्ता विजयी भएका हुन्।
निर्वाचन परिणामअनुसार गुप्ताले ४४,१३८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी काङ्ग्रेस उम्मेदवार भरत थापाले १५,९४५ मत मात्र प्राप्त गरेका छन्। यससँगै गुप्ताले थापालाई २८,१५३ मतान्तरले पछि पार्दै स्पष्ट जित हात पारेका हुन्।
निर्वाचनअघि भने काङ्ग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले भरत थापा ५ देखि १० हजार मतान्तरले विजयी हुने दाबी गर्दै, यदि त्यस्तो नभए राजनीति छोड्ने घोषणा गरेका थिए।
तर परिणाम उल्टो आएपछि अहिले पाठकलाई आफ्नै भनाइका कारण नैतिक दबाब परेको चर्चा सुरु भएको छ।
सामाजिक सञ्जालमा उनको पुरानो अन्तर्वार्ताको क्लिप्स र तस्वीर सार्वजनिक गर्दै जिल्लावासीले बोलेको कुरा पूरा गर्न र नेतृत्वबाट पछि हट्नुपर्ने आवाज उठाइरहेका छन्।
काङ्ग्रेसका स्थानीय कार्यकर्ता र नागरिकहरूबीच अहिले पाठकको उक्त अभिव्यक्तिबारे बहस सुरु भएको छ।
कतिपयले नेताले सार्वजनिक रूपमा दिएको राजनीतिक प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखिरहेका छन् भने केहीले चुनावी माहोलमा गरिएको राजनीतिक अभिव्यक्ति मात्र भएको तर्क गर्दै आएका छन्।
नवलपरासी–२ को परिणामले जिल्लाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याएको छ भने काङ्ग्रेसभित्र पनि आत्मसमीक्षा र नेतृत्वमाथि प्रश्न उठ्ने क्रम बढिरहेको देखिन्छ।
हेर्नुहाेस राधेश्याम पाठकले दिइएको अभिब्यक्ति :
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

