Rashtriya Dainik

कांग्रेस नवलपरासीद्वारा २२ नेतामाथि कारबाही सिफारिस, देवेन्द्रराज कँडेल पक्षको कडा खण्डन

राष्ट्रिय दैनिक / नवलपरासी,२१ फागुन

नेपाली कांग्रेस नवलपरासीको जिल्ला अनुशासन समितिले लुम्बिनी प्रदेशका बहालवाला मन्त्री र पूर्वगृहराज्यमन्त्रीसहित २२ जना नेता–कार्यकर्तामाथि पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेको छ।

जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर १ मा विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) आधिकारिक उम्मेदवार छन्।

उम्मेदवारको निवेदनका आधारमा अन्य दलका उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने गतिविधि गरेको आरोपमा कारबाही सिफारिस गरिएको अनुशासन समितिका संयोजक गोविन्द ढकालले जनाएका छन्।

पत्रमा नेपाली कांग्रेस को विधान २०१७ दफा ३४ (४) (ख) अनुसार निर्वाचनका बेला पार्टीविरुद्ध गतिविधि गरेमा निलम्बन वा सदस्यता खोस्न सकिने व्यवस्था रहेको उल्लेख छ।
कारबाही सिफारिसको सूचीमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, पूर्वगृहराज्यमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नम्बर २ का सभापति माधव पाण्डेसहित क्षेत्र नम्बर १ बाट १९ र क्षेत्र नम्बर २ बाट ३ जना रहेका छन्।


कँडेल पक्षको खण्डन

यसबीच देवेन्द्रराज कँडेल निजी सचिवालयले फेसबुक स्टाटस जारी गर्दै कार्वाही सिफारिसप्रति कडा आपत्ति जनाएको छ।

“दुषित मानसिकताबाट प्रेरित भई पूर्वतयारीसहित चरित्रहत्या गर्न खोजिएको छ। कागले कान लग्यो भनेर कानै नछामी कागको पछि कुद्ने प्रवृत्ति देखियो,” स्टाटसमा उल्लेख छ।

सचिवालयले ०७९ सालमै क्षमादान प्राप्त भइसकेको विषयलाई फेरि उचालिएको भन्दै प्रश्न उठाएको छ— “निर्वाचनको अन्तिम निर्णय आइसकेको हो? किन हतारो?”
खण्डनमा कारबाही प्रक्रिया पूर्वनियोजित रहेको दाबी गर्दै सत्यतथ्यका आधारमा मात्रै निर्णय लिन आग्रह गरिएको छ। साथै, यस घटनाप्रति खेद व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित