राष्ट्रिय दैनिक / नवलपरासी, १५ फागुन
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज सदरमुकाम परासीमा व्यापक घरदैलो तथा शक्ति प्रदर्शन गरेको छ।
चुनावी प्रचार–प्रसारलाई तीव्रता दिँदै पार्टीले आफ्ना उम्मेदवार र कार्यकर्तासहित परासी बजार क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो। जसपाबाट नवलपरासी निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देबेन्द्र यादवले आफ्ना एजेन्डासहित मतदाताको दैलोमा पुगेर मत मागेका थिए।

घरदैलोको क्रममा उम्मेदवार यादवले ठूलो बलिदानपछि प्राप्त संघीयता र पहिचानको उपलब्धि जोगाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै अधिकार सुनिश्चितताका लागि संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाए।
घरदैलोपछि जसपाले परासी बजारमा र्याली निकालेर शक्ति प्रदर्शनसमेत गरेको थियो। र्यालीले सदरमुकाम परिक्रमा गर्दै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले नेपाल सद्भावनादेखि जसपासम्म आइपुगेका मधेसी केन्द्रित दलहरूले मधेसी जनताको अधिकारका लागि निरन्तर संघर्ष गरेको दाबी गरे। नीति निर्माण तहमा समुचित प्रतिनिधित्व नभएसम्म अधिकारको लडाइँ अपूरो रहने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवारलाई संसद्मा पठाउन मतदातासँग अपिल गरे।

कार्यक्रममा नेताहरू मुन्नालाल गुप्ता, पुरन चौधरी, हैदर अली मोमिन, राधेरमन पाण्डे, नगेन्द्र अग्रहरी तथा शोभा चौधरीलगायतले जेनजीको भावना अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
परासीमा जसपाको सक्रिय प्रचार–प्रसारसँगै नवलपरासी–२ मा चुनावी माहोल थप तातेको देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

