Rashtriya Dainik

समृद्ध नवलपरासी र सुदृढ राष्ट्र निर्माणका लागि नरेन्द्र गुप्ताका ९ प्रतिबद्धता सार्वजनिक

बिनोद निगम/ नवलपरासी ,१० फागुन

नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्र कुमार गुप्ता ले समृद्ध नवलपरासी र सुदृढ राष्ट्र निर्माणको उद्देश्यसहित आफ्ना ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका गुप्ताले सुशासन, पारदर्शिता,विकास र समावेशितालाई केन्द्रमा राखेर अघि बढ्ने अठोट व्यक्त गरेका हुन्।

गुप्ताले जनभावनाअनुसार राष्ट्रहितका कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै सुशासन र कानुनी राज्य स्थापना आफ्नो पहिलो प्राथमिकता हुने बताए। सार्वजनिक खर्च र योजनामा पारदर्शिता सुनिश्चित गर्न डिजिटल अनुगमन प्रणाली लागू गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाइने उनको भनाइ छ।

पर्यटन तथा सम्पदा संरक्षणतर्फ उनले रामग्राम स्तूप, देवदह ताल लगायत धार्मिक–ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गरी बौद्ध सर्किटसँग जोड्ने तथा विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

कृषि तथा सिंचाइतर्फ नदी तथा खोलाबाट बाँध र लिफ्ट सिंचाइ आयोजना विकास, भूमिगत सिंचाइ विस्तार र नेपाली गण्डक नहर सुधारमार्फत पूर्ण सिंचाइ सुविधा सुनिश्चित गर्ने योजना उनले अघि सारे। किसानलाई सहुलियत कर्जा, उत्पादनमा आधारित अनुदान, समयमै मल–बीउ उपलब्ध गराउने तथा जैविक मल प्रयोगमा प्रोत्साहन गर्ने कार्यक्रम पनि समेटिएको छ।

शिक्षा तथा युवा विकासअन्तर्गत बहुप्राविधिक शिक्षालय स्थापना, खेलकुद हब निर्माण, आईटी तालिम र स्टार्टअप प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै पाल्हि बहुमुखी क्याम्पस मा स्नातकोत्तर तह सञ्चालन र अन्य क्याम्पसहरूको स्तरोन्नतिका लागि पहल गरिने उनले बताए।

स्वास्थ्य सेवातर्फ पृथ्वीचन्द्र अस्पताल लाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर सुदृढ बनाउने र सुनवल-८ स्थित स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।

उद्योग तथा रोजगारी क्षेत्रमा वातावरणमैत्री उद्योग प्रवर्द्धन, युवालाई रोजगारी सुनिश्चित गर्ने, निर्यातमुखी उद्योगलाई सहुलियत कर्जा र कर छुटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। घना बस्तीबीच रहेको लुम्बिनी चिनी उद्योग लाई उखु उत्पादन क्षेत्रमा स्थानान्तरण गर्ने विषय पनि प्राथमिकतामा राखिएको छ।

पूर्वाधार विकासअन्तर्गत महेशपुर भन्सार कार्यालय लाई सुविधा सम्पन्न बनाउने, सडक स्तरोन्नति,खानेपानी तथा सरसफाइ सुधार र अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी महिला सशक्तीकरण,सामाजिक समावेशिता, विपद् व्यवस्थापन र वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखिएको गुप्ताले बताएका छन्। बाढी, पहिरो तथा डुबान जोखिम न्यूनीकरणका लागि पूर्वतयारी योजना र उद्धार प्रणाली सुदृढ गरिने उनको प्रतिबद्धता छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित