पर्सा / ९ फागुन
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत धोबीनी गाउँपालिका वडा नं. ४ लंगडीमा विभिन्न राजनीतिक दल परित्याग गरी सयौंभन्दा बढी नेता, कार्यकर्ता तथा स्थानीय युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
शुक्रबार लंगडीमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपाबाट पर्सा–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले फूलमाला तथा गम्छा लगाएर पार्टीमा स्वागत गर्नुभयो।
पार्टी प्रवेश गर्नेहरूमा रोशन पटेलको नेतृत्वमा सुनिल साह कलवार, संजय बानिया, विकास पटेल, मिथुन पटेल, धिरज महतो, राजरूप सहनी, बालकुमार सहनी, इनर्देव ठाकुर, भरत पसवान, राकेश पसवानलगायत सयौंको संख्या रहेको जनाइएको छ।
नवप्रवेशीहरूले देशमा परिवर्तन, सुशासन, भ्रष्टाचारमुक्त समाज तथा सबैलाई समान अधिकार सुनिश्चित गर्ने क्षमता रास्वपासँग मात्र रहेको विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेको बताएका छन्। यसअघि आबद्ध दलका नेताहरूले आफूहरूलाई सत्तामा पुग्ने भर्याङका रूपमा मात्र प्रयोग गरेको आरोपसमेत उनीहरूले लगाए। “अबको वैकल्पिक शक्ति भनेको रास्वपा नै हो, जसले वास्तविक देशहितमा काम गर्छ,” लंगडीका रोशन पटेलले बताए।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार शाक्यले पर्सा जिल्लामा युवाका लागि रोजगारी सृजना, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा उद्योग–कलकारखानाको उत्पादन क्षमता विस्तार आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्नुभयो। साथै धोबीनी गाउँपालिकासहित पर्सा–४ का क्षेत्रलाई ऐतिहासिक तथा पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले पर्सा–४ बाट पटक–पटक निर्वाचित भई मन्त्रीसमेत बनेका पूर्व सांसदहरूले क्षेत्रको विकासमा ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, बजार व्यवस्थापन र कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो।
उम्मेदवार शाक्यले रास्वपालाई देश परिवर्तनको मुख्य शक्ति बताउँदै स्थानीय मतदातालाई घण्टी छापमा मतदान गरी प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

