Rashtriya Dainik

भरत थापा घरदैलोमा सक्रिय: पिउने पानी र सडक स्तरोन्नति पहिलो प्राथमिकता

राष्ट्रिय दैनिक / नवलपरासी, ९ फागुन

नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं.२ मा उम्मेदवारी दिनुभएका भिम बहादुर थापा (भरत) यतिबेला चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ।

घरदैलोका क्रममा उहाँले स्थानीय मतदाता तथा अगुवासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षा सुन्ने कामलाई प्राथमिकता दिनुभएको छ।
शनिबार पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ स्थित पडरी टोलमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासीले शुद्ध पिउने पानीको अभाव र सडक सञ्जालको स्तरोन्नति तत्काल आवश्यक रहेको बताएका छन्।

विपन्न तथा ग्रामीण बस्ती रहेको उक्त क्षेत्रमा अझै पनि धेरै घरधुरी सुरक्षित पिउने पानीबाट वञ्चित रहेको गुनासो स्थानीयले गरेका छन्। वडा नं. ६ पडरीका धर्मेन्द्र यादवले केही घरमा मात्र धारा जडान भएको र सबैको घरमा पानी नपुगेको उल्लेख गर्दै सबै नागरिकका लागि शुद्ध पानीको सुनिश्चित व्यवस्था गर्न आग्रह गर्नुभयो। त्यस्तै स्थानीय रामधारी अहिरले वर्षौंदेखि खानेपानीको समस्या समाधान हुन नसकेको बताउँदै अब आउने नेतृत्वले खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सडक पूर्वाधारलाई पनि स्थानीयले विकासको आधार मानेका छन्। वडा नं. ६ कै राजकुमार बर्माले नेपाली नहरदेखि भारतीय सीमासम्म करिब तीन किलोमिटर कच्ची सडक अझै कालोपत्रे हुन नसकेको भन्दै गुनासो गर्नुभयो। वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण आवतजावतमा कठिनाइ हुने भएकाले उक्त सडकको स्तरोन्नति अपरिहार्य भएको उहाँको भनाइ छ।

यस क्षेत्रका भित्री सडकहरू अझै स्तरोन्नति हुन बाँकी रहेकाले विकासबाट पछाडि परेको अनुभूति स्थानीयले गरेका छन्।
स्थानीयका गुनासा र सुझावलाई गम्भीरतापूर्वक सुन्दै उम्मेदवार थापाले आफू यस क्षेत्रका समस्याबारे जानकार रहेको र दीर्घकालीन समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो।

निर्वाचित भए आधारभूत आवश्यकताबाट वञ्चित नागरिकको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर परिणाममुखी काम गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित