Rashtriya Dainik

लिङ्देनको नवलपरासी दौडाहा : हिन्दु राष्ट्र र सुशासनको एजेन्डा

बिनोद निगम / नवलपरासी, ९ फागुन

राजेन्द्र लिङ्देन नेतृत्वको चुनावी दौडाहाले नवलपरासीमा राजनीतिक माहोल तातेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष लिङ्देनले जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ध्रुवबहादुर प्रधान तथा क्षेत्र नम्बर १ का उम्मेदवार नवनितकुमार मिश्रालाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।

सभालाई सम्बोधन गर्दै लिङ्देनले देशमा सुशासन, शान्ति र स्थायित्व कायम गर्न दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए। उनले रोजगारी अभावकै कारण नेपाली युवाहरू भारतका विभिन्न राज्य तथा खाडी मुलुकतर्फ पलायन हुन बाध्य भएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे।

“देशका आम नागरिकलाई देवी–देवतासरह मानेर उनीहरूको जीवनस्तर उकास्ने नीति अवलम्बन गर्नुपर्छ,” उनले जोड दिए।
लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरूलाई लक्षित गर्दै लामो समयसम्म शासनमा रहे पनि जनअपेक्षा अनुरूप परिणाम दिन नसकेको आरोप लगाए।

“धर्मनिरपेक्षता, लोकतन्त्र वा गणतन्त्रको नाममा सीमित दल र मुठीभर नेताको शासन चल्यो, तर देश अपेक्षित दिशामा अघि बढ्न सकेन,” उनले टिप्पणी गरे।
उनले संविधानसभामा प्रमुख दलहरूले बहुमत प्राप्त गरेकै कारण धर्मनिरपेक्षता संविधानमा समावेश भएको दाबी गर्दै अब हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा बोकेको शक्तिलाई समर्थन गर्न मतदातासँग आग्रह गरे।
“तपाईंहरूले दिएको मतकै आधारमा हिन्दु राष्ट्र हटाएर देशलाई धर्मनिरपेक्ष बनाइयो। यदि पुनः हिन्दु राष्ट्र स्थापना गर्ने चाहना छ भने त्यसको एजेन्डा बोकेको पार्टीलाई सहयोग गर्नुपर्छ,” लिङ्देनले भने।

कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। लिङ्देनको सक्रिय चुनावी दौडाहाले निर्वाचन क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रमा चुनावी सरगर्मी थप बढाएको स्थानीयको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित