राष्ट्रिय दैनिक /नवलपरासी,७ फागुन निर्वाचन प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा जुट्नुभएका नवलपरासी क्षेत्र नम्बर–२ का भीमबहादुर थापा (भरत) सँग स्थानीय मजदुरदेखि महिला उद्यमीहरुले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न ठोस पहल गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस का उम्मेदवार थापा विभिन्न बस्ती तथा उद्योग–व्यवसाय सञ्चालन भइरहेका क्षेत्रमा पुग्दा मतदाताले सीप हुँदाहुँदै पनि त्यसको सदुपयोग गर्न नसक्दा बेरोजगार बस्नुपरेको गुनासो गरेका थिए। स्थानीय युवाहरुले वैदेशिक रोजगारीका लागि बढ्दो पलायनप्रति चिन्ता व्यक्त गर्दै गाउँमै साना तथा मझौला उद्योग स्थापना, सीपमूलक तालिम र उत्पादनको बजारीकरणमा ठोस नीति आवश्यक रहेको बताए। “काम गर्ने हात छन्, तर कामको अवसर छैन। गाउँमै उद्योग खोल्ने पहल गरिदिनुस्,” स्थानीय मजदुरहरुको सामूहिक आग्रह थियो। त्यस्तै, महिला उद्यमीहरुले घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहुलियत ऋण, तालिम तथा उत्पादनको बजार सुनिश्चित गर्न राज्यस्तरबाट सहयोग हुनुपर्ने धारणा राखे। मतदाताको माग सुनेपछि थापाले आफू सुनवल नगरपालिका को मेयर र उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा सीपलाई उद्यमसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गराउँदै रोजगारी सृजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सीप भएका युवालाई उद्यमसँग जोड्ने, स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने र नीतिगत सुधारमार्फत स्थायी रोजगारी सिर्जना गर्ने दिशामा पहल गर्ने स्पष्ट गर्नुभयो। घरदैलो अभियानमा श्रमिक र उद्यमीको प्रत्यक्ष आवाज सुन्दै थापाले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर विकास र रोजगारका कार्यक्रम अघि बढाउने विश्वास दिलाउनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।