राजन कुमार बानिया /पर्सा, १० पुस पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा बिहीबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। धोबिनी गाउँपालिकाको आयोजनामा तथा नारायणी आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले आफ्नै आँखा परीक्षण गराई गर्नुभएको थियो। निःशुल्क आँखा शिविरमा १८० जनाले आँखा परीक्षण गराएका थिए भने तीमध्ये ३९ जनामा मोतियाबिन्दु रोग पहिचान भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जितेन्द्र चौहानले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र पटेल, वडा अध्यक्ष मनौवर अहमद, अबास मियाँ, बन्दु साह तेली, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, स्वास्थ्य केन्द्र प्रमुख संजय यादव, नारायण सुन्दर मण्डल, डा. दिपक राज बिष्ट, धिरज कुमार साह, किशोर यादव, रामप्रसाद यादव लगायत स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिविरमार्फत ग्रामीण क्षेत्रका नागरिकहरूले सहज रूपमा स्वास्थ्य सेवा पाएको भन्दै स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्। शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको थियो। शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरूको नारायणी आँखा अस्पताल, वीरगञ्जमा निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने आयोजक संस्थाले जनाएको छ। यस अभियानले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै जनचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।