राजकुमार बानियाँ/पर्सा, ८ पुस स्वास्थ्य कार्यालय पर्सा र सुनौलो परिवारको संयुक्त आयोजनामा सञ्चालन भइरहेको घुम्ती परिवार नियोजन शिविरबाट पर्सा जिल्लाका विभिन्न स्थानमा ३३५ महिलाले निःशुल्क सुरक्षित बन्ध्याकरण सेवा लिएका छन्। धोबिनी गाउँपालिका वडा नं. ४ स्थित लंगडी स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ५५ महिलाले सुरक्षित बन्ध्याकरण गराएका छन्। परिवार नियोजन प्रमुख अनिल मिश्राका अनुसार शिविरको पहिलो दिन वीरगञ्ज महानगरपालिकाको लालपर्सा स्वास्थ्य चौकीमा १६१ जना, दोस्रो दिन पकहामैनपुर स्वास्थ्य चौकीमा ५९ जना, तेस्रो दिन छिपहरमाई गाउँपालिका स्थित सम्भौता स्वास्थ्य चौकीमा ६० जना र धोबिनी स्वास्थ्य चौकीमा ५५ जना महिलाले सेवा लिएका हुन्। प्रमुख मिश्राले घुम्ती टोली धोबिनी गाउँपालिकापछि बहुदरमाई नगरपालिकाको विश्रामपुर स्वास्थ्य चौकीमा सेवा प्रदान गर्न जाने जानकारी दिनुभयो। उहाँका अनुसार बृहद् परिवार नियोजन कार्यक्रम अन्तर्गत सन्तानको चाहना पूरा भइसकेका दम्पतीहरूका लागि मिनिल्याप र भ्यासेक्टोमी सेवा साथै दीर्घकालीन परिवार नियोजन साधन आइयुसिडी र इम्प्लान्ट समेत निःशुल्क उपलब्ध गराइएको छ। स्वास्थ्य कार्यालय पर्साले इच्छुक दम्पतीहरूलाई समयमै निःशुल्क परिवार नियोजन सेवा लिन आग्रह गरेको छ। शिविरबाट ग्रामीण तथा सिमावर्ती क्षेत्रका सेवाग्राहीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।