आरपी उपध्याय / नवलपरासी २३ मंसिर पश्चिम नवलपरासीको सुस्तामा सुविधा सम्पन्न अस्पताल निर्माणको लागि एक समारोहका बिच शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। सुस्ता गाउँपालिका वडा न.२ स्थित पिपरपाती प्रसौनी शाखा नहर नजिक कुडियामा १० शैया अस्पतालको शिलान्यास गरिएको हो। सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले अस्पतालको शिलान्यास गर्दै नेपालको कानुनले पालिकाबाट जग्गा खरिद गर्न नपाइने व्यवस्था भएकोले जग्गा खरिद गर्न स्थानीय चंदा दाताहरुको सहयोगमा जग्गा खरिद गरिएको जानकारी गराउदै सिमावर्ती क्षेत्रका नागरिकहरुले भरपर्दो र विश्वासनिय रुपमा स्वास्थ्य सेवा पाउने धारणा राख्नुभयो। अध्यक्ष उपाध्यायले निर्धारित समयमै अस्पताल निर्माण हुने कुरामा दुईमत नहुने बताउदै ढिलासुस्ती लापरबाही गरेर निर्माण कार्यलाई आलटाल गर्न नपाइने पनि उहाँले प्रष्ट पार्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पालिकाभित्र सरकारी पर्ती जग्गा नभएकोले चंदादाताको सहयोगबाट खरिद गरेर लामो समयको प्रयासपछि अस्पतालको निर्माण कार्य अगाडि बढाइएको जानकारी दिनुभयो। सो अवसरमा जग्गादाता सुस्ता २ महलबारी निवासी चेत नारायण न्यौपानेले मानवीय सेवाको लागि अस्पताल निर्माण गर्न ४ कठ्ठा जमिन दान दिएको विचार राख्दै आफुले सक्दो थप सहयोग दिने पनि विचार राख्नु भएको थियो। कार्यक्रममा चंदादाता तारा प्रसाद न्यौपाने,ठेकेदार कम्पनीका प्रतिनिधि पुरुषोत्तम सत्याल लगायतले आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालक विजय अधिकारीले जानकारी दिनुभएको छ। दुई तल्ले निर्माण हुने भवनमा डेढ दर्जन कोठाहरु हुने र उक्त भवन एक वर्षभित्र नै निर्माण सम्पन्न गरिसक्नुपर्ने बताइएको थियो। सुरेन्द्र निर्माण सेवा प्रा.लि. ले मङ्सिर १५ गते निर्माणको सम्झौता गरेको र उक्त अस्पताल निर्माण कार्यका लागि ९ करोड ९० लाखको लागतमा ठेक्का सकार गरिएको पनि कम्पनीले बताएको छ। कार्यक्रममा पालिका अन्तर्गतका राजनीति दलका प्रतिनिधि,जनप्रतिनिधि, पालिका का कर्मचारी तथा अन्य जनसमुदायहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।