काठमाडौं,१६ मंसिर । आर्थिक मन्दी, मूल्यवृद्धि र अवैध प्रतिस्पर्धाको गम्भीर प्रभाव झेलिरहेका ग्रील तथा स्टील व्यवसायीहरूले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुनर्गठनलाई प्राथमिक एजेन्डा बनाउँदै आगामी वर्षका लागि ठोस कार्ययोजना सार्वजनिक गरेका छन्। देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरको प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले राजधानीमा सम्पन्न ३०औँ वार्षिक साधारणसभामार्फत आगामी दिशा–दृष्टिको स्पष्ट रोडम्याप प्रस्तुत गरेको हो। साधारणसभामा व्यवसायलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउन संरचनागत तथा कानुनी सुधारका प्रस्तावहरू अघि सारिएका छन्। व्यवसायीहरूले ‘व्यवसायीलाई स्पातजस्तै सुदृढ बनाउने’ संकल्प व्यक्त गर्दै नीति निर्माणदेखि अवैध व्यवसाय नियन्त्रणसम्मका महत्वपूर्ण निर्णय सार्वजनिक गरे। महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले २०५० सालतिर सुरु भएको अभियान ३० वर्षमा आइपुग्दा संगठनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै व्यवसायीहरूबीचको एकता, विश्वास र सहकार्य नै महासंघको शक्ति भएको बताए। उहाँले अवैध रूपमा बजार बिगार्ने मिस्त्री तथा व्यवसायीका मेसिनसम्म कब्जा गरेर कारबाही अगाडि बढाउन बाध्य भएको भन्दै उपभोक्ता ठगी र बजार अस्थिरता अन्त्य गर्न स्थानीय तहसँग समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। हार्डवेयर व्यवसाय र ग्रील–स्टील व्यवसायबीचको सम्बन्धमा केही दूरी देखिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दुबै व्यवसायबीचको सम्बन्धलाई सुमधुर बनाउन संवाद र अन्तरक्रिया नियमित रूपमा हुने जानकारी दिए। महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्कीले संगठन निर्माणका चुनौतीपूर्ण शुरुआती दिनहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रूपमा अघि बढ्न शुभकामना दिए। महासचिव विवेकदास श्रेष्ठले कच्चा पदार्थदेखि श्रम लागतसम्मको वृद्धि, अवैध व्यवसाय, कर असमानता र गुणस्तरहीन उत्पादनका कारण व्यवसाय जोखिममा परेको उल्लेख गर्दै महासंघले जिम्मेवार, व्यवस्थित र पारदर्शी व्यवसाय निर्माणलाई मुख्य एजेन्डा बनाएको बताए। निवर्तमान अध्यक्ष मोहन कटुवाल, वरिष्ठ सल्लाकार निरञ्जन कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्मा, बागमती संयोजक प्रकाश पौडेल, गण्डकी संयोजक रणबहादुर विश्वकर्मालगायतका वक्ताहरूले संस्थागत एकता, अवैध गतिविधि नियन्त्रण र व्यवसायी अधिकार सुनिश्चितताका विषयमा धारणा राखे। चितवनका तारा बहादुर कार्कीले महासंघ काठमाडौं केन्द्रित मात्र नभई देशभरका व्यवसायीको साझा मञ्चका रूपमा विकास हुनुपर्नेमा जोड दिए। साधारणसभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगति समीक्षा, अद्यावधिक कार्ययोजना र आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो। बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव र आपूर्ति समस्यालाई महासंघले प्राथमिक रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमले देशभरका ग्रील तथा स्टील व्यवसायीलाई एउटै मञ्चमा ल्याउँदै समस्या समाधान र अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।