काठमाडाैं ,१४ मंसिर श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नुभएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्दछ । आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको जनाइएको छ । यसैबीच, श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ५३ पुगेको छ । बाढी र पहिरोमा परी एक सय ३० जना बेपत्ता छन् । बाढी र पहिरोका कारण घर भत्किएका कारण ४३ हजार ९ सय ९५ जनालाई राज्य संचालित राहत केन्द्रमा सारेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उद्धार र राहतको काम भइरहेको छ । श्रीलंकामा गएको सोमबारदेखि अत्यधिक वर्षा भइरहेको छ । बुधवार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था गम्भीर बनेको हो । शुक्रवार बेलुका केलानी नदीको तटवन्ध भाँचिदा धेरै मानिस अस्थायी शिविरमा सार्नु परेको छ । देशका धेरैजसो भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ । भारतले पीडितको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ र आवश्यक परे थप सहयोगका लागि तयार रहेको जनाएको छ । श्रीलंकाको मौसम विभागका अनुसार बाढीको स्तर सन् २०१६ को भन्दा बढी हुने अनुमान छ । त्यसबेलाको बाढीमा ७१ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००३ को जूनमा आएको बाढीमा श्रीलंकामा दुई सय ५४ जनाको मृत्यु भएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।