राजन कुमार बानिया /पर्सा, ८ मंसिर सशस्त्र प्रहरी बल नेपालले पर्साको ठोरी गाउँपालिका–४ माल बस्ती क्षेत्रबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा करिब ९ केजी लागूऔषध गाँजा बरामद गरेको छ। सुवर्णपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार नियमित चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका दुई वटा मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो। प्रहरी देख्नेबित्तिकै मोटरसाइकल छाडेर चालकहरू फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि शङ्कास्पद रूपमा छाडिएका प्र.०२–००१ प ५२०२ र भारतीय बीआर–२२ एके–२९४४ नम्बरका मोटरसाइकलहरूको विस्तृत जाँच गर्दा एक मोटरसाइकलको इन्धन ट्याङ्कीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा करिब ९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। प्रहरीले गाँजासहित दुवै मोटरसाइकल र एक थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरेको छ। बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज योन्जनले बताए। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुने लागूऔषध तस्करी रोकथामका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।