धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,८ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–७ गणेशपुरस्थित श्री लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालयले सरस्वती माताको मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा कार्यक्रममा सहयोग पुर्याउने चन्दादाताहरूलाई सम्मान गर्दै शिलालेख अनावरण कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार आयोजित विशेष समारोहमा २ सय ६२ जना चन्दादातालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ। साथै चन्दादाताहरूको नामावली समेटिएको शिलालेखको अनावरण प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अभिषेक प्रताप शाहले शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समुदायको योगदान महत्वपूर्ण रहेको बताए। विद्यालय परिसरमा निर्माण गरिएको सरस्वती माताको मन्दिरले विद्यार्थीहरूमा नैतिक, सांस्कृतिक तथा धार्मिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्न आफू सधैं प्रतिबद्ध रहने बताए।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालय तथा मन्दिर निर्माणमा समुदायले देखाएको एकता र सहयोग अनुकरणीय रहेको उल्लेख गरे। सकारात्मक सोच र सामूहिक प्रयासबाट हरेक कार्यमा सफलता हासिल गर्न सकिने उनको भनाइ थियो।
वडा नं. ७ का अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश कुमार चौधरीले स्थानीयवासीको सहयोगले विद्यालयका धार्मिक तथा शैक्षिक गतिविधि थप सुदृढ बनेको बताए। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदा भौतिक पूर्वाधार, शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिमा आफूले भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।
प्रधानाध्यापक श्याम प्रकाश चौधरीले मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै चन्दादाताहरूको योगदानलाई चिरस्थायी बनाउन शिलालेखमा नामावली समावेश गरिएको जानकारी दिए। विद्यालयका धार्मिक तथा सांस्कृतिक गतिविधिमा समुदायको निरन्तर साथ आवश्यक रहेको उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव यादवले विद्यालयको उन्नति तथा धार्मिक आस्थाको संरक्षणका लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाताप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयको चौतर्फी विकासका लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

