राजन कुमार बानिया /पर्सा, ८ असार
बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।
सोमबार आयोजित गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले बजेट प्रस्तुत गरेकी हुन्। त्यसअघि प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
गाउँपालिकाले शिक्षा, पूर्वाधार विकास, सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।
नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने, कर सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा वडा नम्बर १ मा नदी नियन्त्रणको काम सम्पन्न गर्ने योजना समेटिएका छन्।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी ले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज र स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको बताए। उनले सुशासन, समग्र विकास तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।
अध्यक्ष कुर्मीको अध्यक्षतामा सम्पन्न गाउँसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा उमेश गुप्ता लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

