राष्ट्रिय दैनिक / नवलपरासी ,८ असार
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिको बैठक गाउँपालिका अध्यक्ष तथा परियोजना सल्लाहकार समिति अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा पोषणमार्फत जीवन रूपान्तरण परियोजनाअन्तर्गत एकीकृत हातेमालो समाज नेपाल (SIAN) ले सरावल गाउँपालिका वडा नं. ३ र ४ मा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको प्रगति, प्रभावकारिता तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो।

बैठकले परियोजनाअन्तर्गत सञ्चालनमा रहेका कुखुरा पालन, घरबगैँचा, गडौला मल उत्पादन, फलफूल खेती, विद्यालय शौचालय तथा खानेपानी व्यवस्थापनलगायतका गतिविधिको स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरेको जनाएको छ।

अनुगमन टोलीले लाभग्राही तथा सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गर्दै कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिएको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षमा SIAN संस्थाले सरावल गाउँपालिकामा सञ्चालन गरेका कार्यक्रम तथा क्रियाकलापहरूको प्रगति अवस्थामाथि विस्तृत छलफल तथा समीक्षा गरिएको बैठकमा सहभागीहरूले बताएका छन्।

परियोजनाका गतिविधिलाई अझ प्रभावकारी र दिगो बनाउन आवश्यक सुझावहरू समेत संकलन गरिएको जनाइएको छ।

बैठकमा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गाैतम , वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, स्वास्थ्य तथा कृषि प्राविधिक, SIAN संस्थाका डाटा ब्यवस्थापक मीन राना तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको परियोजना सहजकर्ता रामाशंकर पाण्डेयले जानकारी दिनुभएको हाे।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

