राष्ट्रिय दैनिक /नवलपरासी, ७ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ मा आयोजित २ दिने बाल–बालिका क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सरावल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न बालक्लबका पदाधिकारी तथा बालबालिकाको सक्रिय सहभागिता रहेको थियो। तालिममा बालमैत्री राष्ट्रिय सहजकर्ता शर्मिला पौडेल र उमेश बि.क प्रशिक्षकका रुपमा उपस्थित रहेर बालअधिकार, नेतृत्व कौशल, समूहगत काम गर्ने सीप, व्यक्तित्व विकास तथा बाल संरक्षणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता सरावल–३ स्तरीय बाल सञ्जालकी अध्यक्ष सारदा पाण्डेयले गर्नुभएको थियो। उक्त कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी प्रमुख अतिथिको रुपमा उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बालबालिकाको प्रतिभा, क्षमता र अधिकार संरक्षणका कार्यक्रमलाई गाउँपालिकाले निरन्तर प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले बालमैत्री स्थानीय शासन निर्माणमा बालक्लबहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै यस्ता तालिमले भविष्यका नेतृत्व बन्ने आधार निर्माण गर्ने उल्लेख गर्नुभयो। त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बालबालिकामाथि हुने जोखिम, हिंसा तथा भेदभाव अन्त्य गर्न स्थानीय तह सदैव सक्रिय रहेको बताउँदै बाल सहभागिता अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो। कार्यक्रममा सरावल प्रेस क्लबका अध्यक्ष उमेश बि.कले बालबालिकाको प्रतिभा उजागर गर्न पत्रकारिताको पक्षबाट पनि निरन्तर साथ रहने कुरा बताउनुभयो। तालिममा सरावल–३ अन्तर्गतका विभिन्न बालक्लबका पदाधिकारीहरू सहभागी रहेका थिए। कार्यक्रमको सञ्चालन तथा सहजीकरणमा सरावल–३ का बाल सहजकर्ता सञ्जय मौर्य सक्रिय रहेका थिए। तालिमको समापन अवसरमा उपस्थित बालक्लबहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।