उमेश बि.क / नवलपरासी ,३० कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा दीर्घकालीन सेवा प्रवाहलाई मध्यनजर गर्दै प्रशासनिक भवन निर्माण कार्य शुभारम्भ भएको छ। करिब एक बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको यो भवनको कुल लागत रु. ८ करोड ३० लाख ६६ हजार १ सय ६८ रुपैया रहने जनाइएको छ। भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय सरकारले ४० प्रतिशत तथा संघीय सरकारले ६० प्रतिशत व्यहोर्नेछ। सरावल गाउँपालिकालाई संरचनात्मक रुपमा मजबुत बनाउने लक्ष्यसहित यो योजना जिल्लाकै उदाहरणीय योजनामा पर्ने अपेक्षा गरिएको छ। निर्माण स्थलका लागि स्थानीय बासिन्दाले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा स्वेच्छिक रूपमा पालिकालाई हस्तान्तरण गरेका छन्। पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीका अनुसार स्थानीयको सहयोग र सकारात्मक भूमिकाकै कारण अहिले सो जग्गाको प्रमाण–पूर्जा प्रक्रिया पूर्ण भइसकेको छ। “सरावलका नागरिकले विकासप्रति देखाएको समर्पण प्रशंसनीय छ। जग्गा दानजस्तै यो कदमले पालिकाको भविष्यको रूपान्तरणमा निर्णायक भूमिका खेल्नेछ,” अध्यक्ष चौधरीले बताए। पालिकाले भवनको औपचारिक शिलान्यास छिट्टै गर्ने तयारी थालेको छ। शिलान्यासपछि निर्माण तीव्र गतिमा अघि बढाइने जनाइएको छ। भवन निर्माणको जिम्मा काठमाडौंस्थित बिएम सार्वजनिक जेभी कन्स्ट्रक्सनलाई दिएको छ। कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी औपचारिक सम्झौता गरिएको छ। नयाँ भवनमा अत्याधुनिक प्रशासनिक कक्ष, सेवा–प्रवाह काउन्टर, सार्वजनिक पहुँचका सुविधा, अपाङ्गमैत्री संरचना तथा आधुनिक सुरक्षित अभिलेख प्रणाली रहने पालिका स्रोतले जनाएको छ। भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकामा सेवा लिन आउने सर्वसाधारणले सहज, छरितो र पारदर्शी प्रशासनिक सेवा पाउनेछन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।