भारतबाट लुकाइछिपाइ अवैध सामान ल्याउने क्रममा तस्करहरू फरार, १०० किलो सुकाएको माछा बरामद राष्ट्रिय दैनिक / नवलपरासी,२७ कार्तिक भारतबाट लुकाइछिपाइ अवैध सामान नेपाल भित्र्याउने क्रममा नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीले दुई राउन्ड गोली फायर गरेको छ। सशस्त्र प्रहरी बल नवलपरासीका प्रवक्ता डीएसपी गोविन्द केसीका अनुसार घटना कार्तिक २६ गते मध्यराति करिब १२ बजे घटेको हो। नियमित गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाइकलमा सवार करिब १५ देखि २० जनासम्मका तस्करहरूको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो। घटनास्थलबाट करिब १०० किलो सुकाएको माछा बरामद गरिएको छ भने तस्करहरू अन्धकारको फाइदा उठाउँदै फरार भएका छन्। डीएसपी केसीका अनुसार घटना प्रतापपुर गाउँपालिका–५ बसहिया क्षेत्रको पश्चिमतर्फ भएको हो, जुन भारतसँग जोडिएको सीमाक्षेत्र हो र त्यहाँबाट भन्सार छलेर सामान ल्याउने क्रम लामो समयदेखि चल्दै आएको छ। “सीमा क्षेत्रमा गाउँबस्ती टाढा–टाढा भएकाले सो स्थान तस्करका लागि सुरक्षित बनेको छ,” प्रवक्ता केसीले बताए। स्थानीयवासीका अनुसार पछिल्लो समय गुठी परसौनी र पकलिहवा क्षेत्रमा निगरानी कडा बनेपछि तस्करहरूले बसहिया हुँदै सामान ल्याउने बाटो रोज्न थालेका छन्। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको माछा भन्सार कार्यालय महेशपुरमा बुझाउने तयारी गरेको जनाएको छ। सीमा क्षेत्रमा हालका दिनमा कुखुरा, माछा, अण्डा, कपडा, मेशिनरी पार्टपुर्जा, रासायनिक मल र चामल प्रमुख रूपमा भारतबाट नेपाल भित्रिने गरेका छन् भने नेपालबाट भारततर्फ धुपी काठ र चाइनिज खेलौना पठाउने क्रम पनि बढ्दो रहेको स्थानीयले बताएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।