राष्ट्रिय दैनिक / नवलपरासी ,२३ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ हात्तिवनमा भगवान श्रीरामचन्द्रको जीवनकथामा आधारित रामलिला नाटक यस वर्ष पुनः सुरु भएको छ। शनिबार चौथो दिनसम्म निरन्तर मञ्चन भइरहेका यस धार्मिक र सांस्कृतिक कार्यक्रमले गाउँमा पुरानो उत्सवको रौनक फर्काइदिएको छ। कुनै समय हात्तिवन गाउँको चिनारी बनेको यो रामलिला करिब दुई दशकअघि बन्द भएको थियो। तर यस वर्ष स्थानीय युवाहरू र जेष्ठ नागरिकको संयुक्त पहलमा ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने नारासहित पुनःजीवित गरिएको हो। कार्यक्रमको अध्यक्षता मनाेज चौधरी र निर्देशन छेदी प्रसाद चौधरीले सम्हालेका छन्। रामलिलामा गाउँकै कलाकारहरूले पात्रहरूकाे उत्कृष्ट अभिनय गरेर दर्शकको मन जितेका छन्। रामलिलाकाे मुख्य भूमिकामा राजा दशरथ : अशोक पाण्डेय ,राम : जंग बहादुर चौधरी,लक्ष्मण : शम्भु चौधरी ,सीता : वुल्लु चौधरी ,रावण : भिखारी चौधरी ,मन्त्री : हरि नारायण चौधरी लगाएतले भुमिका निर्वाह गरेका छन । मञ्चमा कलाकारहरूले संवाद, गीत, भक्ति र युद्ध दृश्यलाई यथार्थ झल्किने गरी प्रस्तुत गर्दा दर्शकहरूले बारम्बार ताली र जयश्रीरामका नाराले वातावरण गुन्जायमान बनाएका छन्। स्थानीय बासिन्दा सुर्य नरायण यादव भन्छन् — “हात्तिवनमा रामलिला हाम्रो धर्म मात्र होइन, हाम्रो पहिचान पनि हो। यो कार्यक्रमले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने काम गरेको छ।” यस्तै गाउँका युवाहरूले यसलाई सामाजिक एकता, सहकार्य र सामूहिक प्रयासको प्रतीकका रूपमा हेरेका छन्। रामलिलाको क्रममा गाउँमा मेला–जस्तो माहोल छ — बच्चादेखि बृद्धसम्म सबैजना राति मञ्चमा भेला हुने गरेका छन्। हात्तिवन गाउँको रामलिला पश्चिम नवलपरासीकै पुराना सांस्कृतिक कार्यक्रममध्ये एक हो। स्थानीय वयोवृद्धहरूका अनुसार, दशकौँअघि नै यहाँका पुराना कलाकारहरूले यस परम्पराको सुरुवात गरेका थिए। अब फेरि यसलाई निरन्तरता दिन सांस्कृतिक संरक्षण समिति गठन गरिएको छ। समितिका अध्यक्ष मनाेज चौधरीका अनुसार“हामी यो परम्परालाई वर्षेनी आयोजना गर्ने र विद्यालयस्तरमा पनि रामायण अध्ययन प्रवर्द्धन गर्ने तयारीमा छौँ।” साँझ पर्नासाथ हात्तिवनको केन्द्रमा बनाइएको मञ्चमा बत्तीको झिलिमिली र भजनकीर्तनको आवाज मिसिएर पवित्र माहोल सिर्जना गर्छ। गाउँलेहरू दियो बाल्दै, प्रसाद वितरण गर्दै, परिवारसहित कार्यक्रम हेर्न पुग्छन्। रामलिलाको चौथो दिनसम्ममा पुर्नहा, सरावल,मंगलापुर,गाेबरहीया र ललितपुर क्षेत्रका दर्शकहरूको भीड बढ्दो छ। हात्तिवनको रामलिला केवल धार्मिक कार्यक्रम होइन यो इतिहास, पहिचान र स्थानीय एकताको प्रतीक बनेको छ। स्थानीय युवा जन्मेजय यादव भन्छन्, “जसरी अयोध्यामा राम जन्मभूमि बलेको छ, त्यसरी नै हात्तीवन गाउँमा पनि संस्कृतिको ज्योति फेरि प्रज्वलित भएको छ।” राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।