Rashtriya Dainik

रौतहटको माधव नारायण नगरपालिकाका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको उजुरी

रौतहट,१७ कात्तिक

रौतहटको माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

माधव नारायण–३ का स्थानीय बासिन्दा आशितोषकुमार यादवले आयोगमा दिएको उजुरीमा आर्थिक अनियमितता, फर्जी बिल तयार गरेको, सरकारी सम्पत्ति हिनामिना गरेको र अनावश्यक खर्चमार्फत नगरपालिकामा आर्थिक नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ।

१२ बुँदे उजुरीपत्रमा नगर प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतले मिलेमतोमा कमिसन लिएको, टुक्रे योजना बनाएर नक्कली बिलमार्फत भुक्तानी गरेको, तथा विकास योजनामा अनियमितता गरेको दाबी गरिएको छ। उजुरीमा “काम नगरी फर्जी बिल तयार गरी भुक्तानी गरिएको र बजेट रकम व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरिएको” उल्लेख छ।

उजुरी अनुसार नगरपालिकाको प्रशासकीय भवन निर्माणको टेन्डर प्रक्रियामा करिब २० प्रतिशत कमिसन लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको र विकास योजना बढी कमिसन पाउने उद्देश्यले साना–साना टुक्रे योजनामा विभाजन गरिएको आरोप छ।

त्यस्तै संघ र प्रदेश सरकारबाट आएका सशर्त अनुदान रकममा नक्कली बिल बनाएर भुक्तानी गरेको, सडक बत्ती न्यून दरमा खरिद गरी दस गुणासम्म बढी भुक्तानी गरेको जस्ता आरोपहरू समेत उजुरीमा समावेश छन्।

उक्त उजुरीमा भ्रष्टाचार निवारण ऐन बमोजिम आवश्यक छानबिन र कानुनी कारबाहीको माग गरिएको छ। आयोगले प्रारम्भिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित