राष्ट्रिय दैनिक /नवलपरासी,१७ कार्तिक पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्सालले नागरिकका गुनासा र समस्या प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले नयाँ अभ्यास सुरु गर्नुभएको छ। उहाँले अबदेखि हरेक दिन मध्यान्ह १२ देखि साढे १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय परिसरमा स्थापना गर्न लागिएको हेल्पडेस्कमा स्वयं उपस्थित रही नागरिकका गुनासो सुन्ने भएका छन्। सीडीओ लम्सालले सेवाग्राहीको मात्र होइन, जिल्लाभरिका नागरिकका समस्या सम्बोधन गर्ने उद्देश्यले यो अभ्यास सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार, “म नभएको बेला सहायक प्रमुख जिल्ला अधिकारी र उहाँ पनि अनुपस्थित भए अधिकृतले हेल्पडेस्कमा बसेर नागरिकका गुनासा सुन्ने व्यवस्था मिलाइनेछ।” लम्सालका अनुसार यस कदमले सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ। उहाँले भने “नागरिकका गुनासा सुन्ने र समाधानका लागि तत्काल पहल गर्न सक्ने प्रणाली नै सुशासनको आधार हो। प्रशासनले जनताको ढोका खोल्ने होइन, जनताकै ढोका ढकढक्याउने अभ्यास गर्नुपर्छ।” यससँगै सीडीओ लम्सालले जिल्लाका सबै कार्यालय प्रमुखहरुसँग पनि नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। पहिलो चरणमा हरेक महिनाको २ गते हुने कार्यालय प्रमुखहरूको बैठकमा नागरिकसमेत सहभागी हुने गरी एक घण्टे अन्तरक्रिया कार्यक्रम राखिने बताइएको छ। त्यसपछि सम्बन्धित कार्यालयमै पुगेर सेवाग्राहीका गुनासा सुन्न सकिने गरी कार्यविधि परिमार्जन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। नवलपरासीमा हप्तादिन अघि मात्र सरुवा भई आउनुभएका सीडीओ लम्साल अहिले जिल्लाको समग्र अवस्था, सेवा प्रवाहको अवस्था र स्थानीय तहको कार्यसञ्चालनबारे राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज तथा संघसंस्थासँग निरन्तर परामर्श गर्दै हुनुहुन्छ। उहाँले आफ्नो पहिलो प्राथमिकता आगामी निर्वाचनको सफल व्यवस्थापन र जिल्लामा सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।