राष्ट्रिय दैनिक / नवलपरासी, १२ असोज पश्चिम नवलपरासीस्थित भारतसँग जोडिएका विभिन्न सीमानाकाबाट अबैध रूपमा माछा, कुखुरा, खसी–बोका, कुखुराका चल्ला तथा अण्डा खुलेआम भित्रिने क्रम बढ्दै गएको छ । तस्करी नियन्त्रण गर्नुको साटो नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा यस्तो गतिविधि चल्दा स्थानीय कृषक तथा व्यवसायीहरू मारमा परेका छन् । महेशपुर, भुजहवा, झुलनिपुर, विष्णुपुरा, बलिनगर, रगरगन्ज गाेपालपुर ,बसहिया लगायतका मुख्य नाकाबाट दैनिक रूपमा पशुपंक्षीजन्य वस्तुसहित कपडा र इलेक्ट्रोनिक सामान समेत चोरी–पैठारी हुँदै आएको स्थानीयवासीहरूले बताएका छन् । उनीहरूका अनुसार ठूला तस्करहरूले प्रहरी चौकीदेखि उच्च अधिकारीसम्म मासिक रकम बुझाउने गरेकाले उनीहरूको सामान नदेखे जस्तै गरिन्छ । तर साना परिमाणमा सामान ल्याउनेलाई भने प्रहरीले पक्राउ गरी ‘नियन्त्रणमा लागिरहेको छ’ भन्ने देखाउने गरेको आरोप छ । नेपाली कुखुरा व्यवसायी जाहिर खाँका अनुसार भारतमा कुखुराको दाना, चल्ला तथा मासु सस्तो भएकाले नेपालमा उत्पादित कुखुरा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । “अबैध रूपमा सस्तो कुखुरा भित्रिँदा नेपाली कृषक बजारमै मारमा परेका छन्,” उहाँले भन्नुभयो । नेपाली बजारलाई आत्मनिर्भर बनाउन सक्ने माछा उत्पादनसमेत तस्करीका कारण खतरामा परेको माछा व्यवसायीहरूले बताएका छन् । “जिल्लामा करिब १०० बिघा जमिनमा माछा उत्पादन भइरहेको छ र १००–१५० किसान यसमा संलग्न छन् । तर भारतबाट दैनिक ठूलो मात्रामा सस्तो माछा भित्रिएकाले हाम्रो उत्पादनले बजार पाउन सकिरहेको छैन,” एक माछा पालक कृषकले गुनासो गर्नुभयो । दशैं चाडपर्व नजिकिँदै गर्दा तस्करी अझै बढेको स्थानीयले बताएका छन् । पर्व नजिकिँदा मासुजन्य वस्तुको माग बढ्ने अवसरलाई तस्करहरूले प्रयोग गर्ने गरेका छन्, जसले नेपाली उत्पादनलाई झन् संकटमा पारेको छ । तस्करीमार्फत नेपाल भित्रिने माछा, कुखुरा र खसी–बोका बुटवल, भैरहवा तथा बर्दघाट , कावसाेती हुँदै नारायणगढसम्म सहज रूपमा बिक्रीवितरण हुने गरेको व्यवसायीहरू बताउँछन् । स्वास्थ्य दृष्टिले हानिकारक हुने यस्ता वस्तु उपभोक्ताले ‘सस्तो’ भनेर प्रयोग गर्ने गरेको पाइए पनि यसको असर भने दीर्घकालीन हुने कृषकहरूको भनाइ छ । कृषक तथा व्यवसायीहरूले अबैध आयात नियन्त्रण गर्न राज्य संवेदनशील हुनुपर्ने माग गरेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।