राष्ट्रिय दैनिक/ नवलपरासी , असोज ६
पश्चिम नवलपरासीका बासिन्दा तीन वर्षदेखि पुनःपुनः डुबान, बजेटको पारदर्शिता र वाचा पूरा नगरेको आरोप
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – १ र सरावल गाउँपालिका-६ तथा ७ का क्षेत्रहरू हरेक वर्ष वर्षायाममा डुबानमा पर्दै आएका छन्। बाढी र कटानीले धानबारी नष्ट हुँदा किसानहरू आर्थिक संकटमा धकेलिँदै आएका छन्। तर समस्या समाधानका लागि न त स्थानीय तह, न प्रदेश, न केन्द्र सरकारले प्रभावकारी पहल गरेको स्थानीयवासीको गुनासो छ।
स्थानीयका अनुसार वडाहरूमा हरेक वर्ष करिब १ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन हुने भए पनि त्यसको प्रयोगबारे स्पष्ट जानकारी छैन। चुनावको बेला विभिन्न वाचा गरिने तर समयमै कार्यान्वयन नहुने गुनासो छ।
गुणस्तरहीन बाँध र ठेक्कामा अनियमितताको आरोप :- पाल्हिनन्दन–१ मा बाँध निर्माणका लागि प्रदेश र पालिकाबाट लाखौँ रुपैयाँ आएको भए पनि गुणस्तरहीन बाँध बनाइने र कमिसनको खेलमा ठेक्का दिने गरेको स्थानीयवासीको आरोप छ। बाढी रोक्ने उद्देश्यले बनेका संरचना प्रभावकारी नभएपछि हरेक वर्ष बस्ती र खेती नै जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ।
अध्यक्षका वाचा अपूरा :- तीन वर्षअघि राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा पाल्हिनन्दन–१ का वडा अध्यक्षले नदी कटानी रोक्ने, विद्यालय सुधार गर्ने र आवास उपलब्ध गराउनेजस्ता वाचा गरेका थिए। तर तीमध्ये कुनै काम पूरा नभएको स्थानीयवासीले बताउँदै आएका छन्।
सडक, विद्यालय र आवासमा बेवास्ता :- महेशपुरदेखि सुनारीसम्मको सडकमा ठूला–ठूला खाल्टाखुल्टी र जोखिमपूर्ण अवस्था रहेको भए पनि न वडा, न पालिकाले वास्ता गरेको स्थानीयको आरोप छ। दलित समुदायका प्रतिनिधिहरूले आवास आफन्त र नजिकका मान्छेलाई मात्र दिइने गरेको गुनासो गर्दै आएका छन्। विद्यालयमा पनि सुधार नआएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।
जनप्रतिवद्धता र पारदर्शितामा प्रश्न :- डुबान, नदी कटानी, विद्यालय र सडक समस्याको समाधान नभई बजेटको पारदर्शिता र जनप्रतिवद्धताबारे स्थानीयवासी अझै प्रश्न उठाइरहेका छन्। उनीहरूका अनुसार सरकारका सबै तहको बेवास्ताले समस्या जटिल बन्दै गएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

