Rashtriya Dainik

“चोक–चौराहामा मन्त्री सन्तु: सत्तामा सादगी, व्यवहारमा जनता”

उमेश बि.क / नवलपरासी , साउन ३ गते

लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार ‘सन्तु’ ले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका विभिन्न वडामा स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट र जनसंवाद गर्नुभएको छ।

मन्त्री सन्तुले सरावल गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ का चोक–चौराहा र प्रतिक्षालयसम्म पुगेर आम नागरिकसँग खुलेर संवाद गर्नुभएको हो।

सामान्य नागरिकझैँ टोलटोलमा पुगेर बस्नुभएको मन्त्री सन्तुले स्थानीयवासीसँग भलाकुसारी गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे सुन्नुभयो। मन्त्री भएर पनि न कुनै सुरक्षा घेरा, न त औपचारिकता—सधैंझैँ सादा पोशाकमा उपस्थित सन्तुले आफूलाई जनताकै बीचमा सहज रूपमा प्रस्तुत गर्नुभयो।

“नेता सन्तु हाम्रो घरमा आउनुभयो, उहाँसँग कुरा गर्दा हामी डराकै छैनौं,” सरावल गाउँपालिका–४ बडसार का शिवमंगल केवटले भने, “उहाँको व्यवहारले नेताभन्दा बढी आफन्त लाग्छ।”

मन्त्री सन्तुको यस जनमुखी भेटघाटले स्थानिय तहमा राम्रो सन्देश दिएको छ। भेटघाटकै क्रममा केही स्थानमा तत्काल समाधान गर्न सकिने विषयहरूमा उहाँले सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिनुभएको बताइएको छ।

नेताहरू उच्च ओहदामा पुग्नासाथ जनतासँग टाढा हुने प्रवृत्ति बढ्दै गएको बेलामा मन्त्री सन्तुको सादगी, सरलता र प्रत्यक्ष जनसम्पर्कको शैलीले उदाहरणीय मानिएको छ। विकासका काम त बजेटको कुरो हो, तर जनताको मन जित्ने काम सादगी र संवेदनशीलताले हुन्छ भन्ने उदाहरण मन्त्री सन्तुले देखाउनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित