राष्ट्रिय दैनिक / नवलपरासी ,३२ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु गर्ने पहिलो पालिका बनेको छ ।
जिल्लाका ७ स्थानीय तहमध्ये सेवा प्रवाह गर्ने सरावल गाउँपालिका पहिलो स्थानीय तह बनेको हो । यससँगै अबदेखि नापी कार्यालयबाट प्राप्त गरिने नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार र रेखांकन जस्ता सेवा सुबिधा गाउँपालिकाबाटै प्राप्त हुनेछ ।
यसअघि नक्सा प्रिन्ट गर्नकै लागि पनि नापी कार्यालय सदरमुकाम परासी नै पुग्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो । तर, अबदेखि सरावल गाउँपालिकाको कार्यालय, सरावलबाटै यी सेवाहरू प्राप्त गर्न सकिने गाउँपालिका अध्यक्ष सुखाडी प्रससाद चाैधरीले जानकारी दिनुभयो । सरावल पालिकाबासी अब भूमि र नापीसम्बन्धी विभिन्न सेवा सुविधाहरू अत्यन्तै सजिलो र प्रभावकारी तरिकामा पालिकाबाटै उपलब्ध हुने बताउनुभयो ।

सेवा सञ्चालनका लागि नापी कार्यालय परासीका प्रमुख कैलासनाथ पाण्डेयले आवश्यक यूजर र पासवर्ड गाउँपालिकाका अमिन निरज प्रजापतिलाई हस्तान्तरण गर्नुभएको हाे।
नागरिकलाई सहजरूपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको पालिका अध्यक्ष चाैधरीले बताउनुभयो । “पालिकाका नागरिकलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने सवालमा सबै पक्षसँग समन्वय गरी काम गरिरहेकाे बताउनुभयो ।
अध्यक्ष चाैधरीले गाउँपालिकाबाट सेवा सुरु भएपछि नियमानुसार राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिनुभएको हाे।

सदरमुकाम पुगेर मात्रै प्राप्त गरिने सेवा गाउँपालिकाबाटै पाइने भएपछि सेवाग्राही उत्साहित भएका छन् ।
सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था शुरु गरेको छ । नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा, फिल्डबुक र प्लट रजिष्टर हेर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मेरो कित्ता प्रणलीबाट गर्न सकिने भएको छ। यो प्रणालीको प्रयोगबाट छिटो, छरितो र मितव्ययी सेवा प्रवाह हुनेका साथै जग्गा प्रशासन सेवामा पारदर्शिता तथा सुशासन कार्यमा योगदान पुग्ने विश्वास लिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

