आरपि उपाध्याय / नवलपरासी ,३० असार
पश्चिम नवलपरासीको सुस्तामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बाढी,पहिरोबाट बच्नको लागि तटबन्ध र वृक्षारोपण कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन।
उनीहरूले देशको विभिन्न भागमा बाढी,पहिरो र भूक्षयका कारण सयौं नागरिकको ज्यान जाने गरि हुन थालेको मानवीय क्षतिबारे राज्यले अल्पकालीन र दीर्घकालीन योजना बनाएर रोकथाम, नियन्त्रण कार्य गरिनुपर्ने सुझाव दिए।

वृक्षारोपण कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिनुका साथै रोपिएका विरुवालाई संरक्षण गरिनुपर्ने बताउदै उनीहरूले तालिम र अभिमुखिकरण कार्यक्रमलाई स्थानीय सरकारले पनि उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा सहभागीले राखेका थिए।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुस्ता ५ को अनोमा घाटमा जलवायु परिवर्तन अनुकूलन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा बोल्ने वक्ताहरूले सो धारणा राखेका हुन।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले सुस्ता गाउँपालिका स्थित नारायणी नदीबाट हुने कटान रोक्न नदीको किनारमा बाँसको बिरुवा लगाइ त्यसको तारबारको व्यवस्था गर्न वन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने पनि जानकारी दिनुभयो।

मन्त्री कलवारले किसानहरुलाई दिइनुपर्ने अनुदान लगायत अन्य सुविधामा कमी आएको जन गुनासो अनुसार त्यसको व्यवस्थापन गर्न आफुले मातहतका निकायलाई तत्काल पहल गर्ने आश्वासन पनि दिनुभएको थियो।
कार्यक्रममा जिल्ला वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जीवन पंगेनीले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्न तालिमको सीप उपलब्धिमूलक हुने धारणा राख्दै भविष्यमा हुने धनजनको क्षति रोकथाम गर्न तालिमको ज्ञान फलदायी रहने जिकिर गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा आयोजित सम्पन्न समापन समारोहमा सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया,सुस्ता ४ की कार्यपालिका सदस्य मुना पुन,सुस्ता बचाउ अभियानका अध्यक्ष आदम हुसेन खान,कुन्ती चौधरी लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

दुई दिनसम्म सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निमित्त महानिर्देशक यज्ञमुर्ती खनाल र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख जीवन पंगेनी लगायतले सहजीकरण गर्नुभएको वरिष्ठ वन अधिकृत टोलखराज चापागाईंले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

