Rashtriya Dainik

बझाङमा नेकपा एस लाई पहिलो शक्ति बनाइन्छ” नवनिर्वाचित अध्यक्ष अक्कल धामी

 
बझाङ,  जेष्ठ १४ — नेकपा एकिकृत समाजवादी बझाङ जिल्ला कमिटीका नवनिर्वाचित अध्यक्ष अक्कल धामीले नेकपा एकिकृत समाजवादी पार्टीलाई बझाङ जिल्लाको प्रमुख राजनीतिक शक्ति बनाउने दृढ संकल्प व्यक्त गरेका छन्।

जिल्ला कमिटीको नवौँ अधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष धामीले पार्टीप्रति समर्पित भएर इमान्दारिताका साथ काम गरेमा बझाङमा नेकपा एकिकृत समाजवादीलाई पहिलो दल बनाउन असम्भव नरहेको उल्लेख गरे।
उनले भने, “पार्टीका नेता–कार्यकर्ताहरूले जिम्मेवारी बोध गर्दै अनुशासन र निष्ठापूर्वक काम गरेमा अबको केही समयमै हाम्रो पार्टी बझाङमा प्रमुख राजनीतिक शक्ति बन्नेछ। हामीले संगठनलाई बलियो बनाउन, जनतामाझ विश्वास जित्न र नीतिगत रूपमा सही दिशा अपनाउनुपर्छ।”
धामीको राजनीतिक यात्रा लामो र अनुभवले भरिएको छ। २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष भएर जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका धामी २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पनि बनेका थिए। उनले पार्टीका विभिन्न तहमा रही अनेकौं जिम्मेवारीहरू निर्वाह गरेका छन्। यही अनुभवलाई प्रयोग गर्दै उनले पार्टीलाई जिल्लामा सशक्त बनाउने प्रतिबद्धता जनाएका हुन्।
समापन कार्यक्रममा अन्य नेताहरूले पनि संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण, नीति निर्माणमा जनताको सहभागिता र आगामी निर्वाचनका लागि तयार रहनुपर्नेमा जोड दिएका थिए। नवौं अधिवेशनलाई सफल बनाएकोमा अध्यक्ष धामीले सबै प्रतिनिधि, कार्यकर्ता, शुभेच्छुक र आयोजकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित